तनहुँ । मुस्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ ।
पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्रे गरिएको हो । त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन सडक कालोपत्रे गरिएको हो ।
आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण)को कालोपत्रे भएको छ । सोमा १५ दशमलव छ चारलेन र १२ दशमलव ७३ किलोमिटर दुई लेन रहेको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।
पहिलो चरणमा छ सेन्टिमिटर मोटाइको सडक कालोपत्रे गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्रे हुनेछ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्रे कार्य अघि बढाउनाका साथै कालोपत्रे नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए ।
‘दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्रे भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रेको कार्य अघि बढाइएको छ, ‘उनले भने, ‘जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ ।’ पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले छ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ । एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया