अर्थमन्त्री पौडेललाई डिस्चार्जको तयारी, मेयर आचार्य केही दिन उपचारमा रहने

लोकपथ
1.2k
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

शनिबार पोखरामा हाइट्रोजन भरिएको बेलुन विस्फोट हुँदा उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।
दुई दिनदेखि कीर्तिपुर अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।

हाल दुवैको अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले बताए । साथै दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको छैन ।

‘…यस अस्पतालमा २ दिनदेखि उपचार गराईरहनु भएका माननीय उपप्रधान तथा अर्थमन्त्री श्री विष्णु पौडेलज्यू र पोखरा महानगरपालिकाका मेयर श्री धनराज आचार्यज्यूको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराइन्छ । दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन,’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यसो त स्वास्थ्यमा उल्लेख्य सुधार र कुनै समस्या नदेखिएपछि उपप्रधानमन्त्री पौडेललाई डिस्चार्जको तयारी गरिएको छ । तर मेयर आचार्य भने पहिलेदेखि नै उच्च रक्तचापको समस्यामा रहेका कारण उनलाई केही दिन उपचार गरिने अस्पतालले जनाएको छ ।

मेयर आचार्यलाई थप उपचार गर्नुपर्ने र स्वास्थ्य जटिलताका कारण भेटघाट बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?