दैलेखमा चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ११ वर्षीय बालकको हत्या

अभियुक्त १४ वर्षीय र १७ वर्षीय किशोर

लोकपथ
252
Shares

सुर्खेत । दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेला भएको विवादका क्रममा ११ वर्षीय बालकको हत्या भएको खुलासा भएको छ । दुल्लु नगरपालिकाका ती बालकको सोही ठाउँका १४ वर्षीय र १७ वर्षीय किशोरले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । दुबैलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको छ । 

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार, ११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन रहेकोमा परिवारको उजुरीपछि भएको खोजतलासका क्रममा उनको हत्या भएको खुलेको हो । 

१४ वर्षीय र १७ वर्षीय किशोरले बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएको प्रहरी निरीक्षक सुनारले बताए । 

‘सुरुमा हामीले बालक सम्पर्कविहीन हुनुअघि उनको साथमा भएका साथीहरूबारे अनुसन्धान गर्‍यौ,’ उनले भने, ‘शनिबार नियन्त्रणमा लिई दुई बालकसँग सोधपुछ गर्दा ‘आफूहरूले चोरी गरेर सुनका गहना (तिलहरी) बिक्री गर्ने बेलामा विवाद भएको र माघ २५ गते नै हत्या गरेर घर नजिकै रहेको खोला नजिक खाल्डो खनी गाडेको छौँ’ भन्ने बयान दिए ।’

सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको प्रहरी निरीक्षक सुनारले बताए । हत्या अभियोगका ती दुई बालकहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?