‘शानदार मःमका कामदार जल्दा एम्बुलेन्स पाएनन्, मन्त्री र मेयरलाई हेलिकप्टर ?’

लोकपथ
17.7k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दबासिनी कंशाकारले एकपछि अर्को जलनको घटना बढिरहँदा पनि सरकारले त्यसको न्यूनिकरणमा चासो नदेखाएको भन्दै आपत्ति जनाएकी छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कंशाकारले केही दिनअघि कमलादीमा शानदार मःम पसलमा भएको ग्यास विस्फोट र हिजो पोखरामा भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराइन् ।

केहीदिन अघि खानेपानी मन्त्रालय भएको आगलागी, कमलादीको शानदार मःम पसलमा ग्यास विस्फोट र शनिबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बेलुन विस्फोट भइ आगलागी हुँदा घाइते भएका छन् ।

तीन प्रतिनिधि घटनालाई उदाहरण दिँदै सांसद कंशाकारले सरकारले एकपछि अर्को घटना भइरहँदा पनि त्यसको रोकथामका लागि कुनै चासो नदिएको भन्दै आपत्ति जनाइन् ।

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको श्वास्थ्य लाभको कामना गर्दै उनले भनिन्, ‘…उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल ज्यू र पोखरा महानगर प्रमुख धनराज आचार्यज्यूलाई हेलिकप्टरमार्फत् काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइयो । उहाँहअरु दुवै जनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । तर अस्ति भर्खर शानदार मःममा ग्यास विस्फोट भइ सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा राखेर उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । आज मन्त्रीज्यू र मेयरज्यूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।’

आफैँ एसिड आक्रमणमा परेकी सांसद कंशाकारले एसिड पीडित तथा जलनमा परेका नागरिकहरुका लागि छुट्टै व्यवस्था गर्न माग गर्दै आइरहेकी छन् ।

उनले नेपालमा यस्ता घटनाहरु निरन्तर भइरहे पनि ‘थिंक सेफ्टी, डू सेफ्टी’ भन्ने कुरा नारामा मात्रै सीमित भइरहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?