काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा डा. रिजालले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने बताएका हुन् । उनले कुनै पनि पार्टीको बहुमतबिना राजनीतिक स्थायित्व र उत्तरदायित्वको कल्पना गर्न नसकिने बताए ।
निर्वाचन प्रणालीकै कारण ७४ को निर्वाचनमा नेपाली कांग्रेसले ३३ प्रतिशत मत पाए पनि जम्मा २३ सिट जितेको जिकिर गरे । उनले ७८ को निर्वाचनमा २६ प्रतिशत मत पाए पनि गठबन्धन गरेको कारण प्रत्यक्षमा ५७ सिट जितेको तर्क गरे ।
२०१५ सालदेखि कुनै पनि पार्टीले ३८ प्रतिशतभन्दा बढी मत नल्याएको भन्दै बढी मत आएन भन्दैमा स्थिरता हुँदैन भन्ने तर्क गर्न नहुने बताए । उनले १६५ निर्वाचन क्षेत्र कायम गर्दा ६० सिट समानुपातिक प्रणालीका लागि छुट्याउनु पर्नेमा जोड दिए । उनले सजिलै निर्वाचन जितेर आउनेलाई समानुपातिकमा ल्याउन नहुने बताए । उनले निर्वाचन जित्न कठिन हुने समुदायलाई संसद्मा आउने बाटोका लागि पनि समानुपातिक प्रणाली आवश्यक भएको तर्क गरे ।
नेता डा. रिजालले ०७२ देखि तीन नेता पालैसँग प्रधानमन्त्री भएर तीन नेता एउटा पार्टी र बाँकी अर्को पार्टी जस्तो भएको व्यङ्ग्य गरे । उनले यस्तो अवस्था आउनुमा को जिम्मेवार छ भन्ने टुङ्गो लगाउन पनि निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया