बागमती । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति आफ्नो पार्टीले प्रारम्भ गरेको अभियान सफल बन्दै गएको बताएका छन् ।
मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा आजदेखि सुरु भएको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सुशासनका, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा आफ्नो पार्टीले थालेको अभियान सफल बन्दै गएको बताए ।
‘हामीले देशैभरि राष्ट्रिय एकता निर्माणको अभियान थालेका छौँ,‘ अध्यक्ष दाहालले भने, ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानले देशैभरि नयाँ आशाको किरण देखिएको छ ।’ सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्ने बताउँदै अध्यक्ष दाहालले यसमा सबैलाई लामबद्ध हुन आह्वान गरे।
नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रूपमा स्थापित गर्न खेलकुदको विकास महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले पनि यसमा ध्यान दिनुपर्ने बताए। खेलका कारण देशको प्रतिष्ठा उच्च बनाउन सकिने उनको अभिमत थियो ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरू प्रेमप्रसाद पुलामी, कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान लगायत उपस्थित थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया