तापक्रम वृद्धिको असर सुन्तलाखेतीमा

लोकपथ
189
Shares

म्याग्दी ।  तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका नीलकण्ठ सुवेदीको बगैँचा अहिले रिक्तिएको छ । 

‘स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो, ‘सुवेदीले स्मरण गरे, ‘अहिले मौवाफाँटमा सुन्तला उत्पादन हुनै छाड्यो । बगैँचा पनि नासियो ।’ कुनै समय राम्रो चर्चा र धेरै माग हुने मौवाफाँटको सुन्तला हाल एकादेशको कथाजस्तै भएको सुवेदीले बताए। उनीकहाँ मात्र नभएर मौवाफाँटमा अहिले कसैको घरमा पनि बगैँचा छैन । एक जनाको एक सय बोटसम्म सुन्तलाको बगैँचा थियो । बीसभन्दा बढी बगैँचा थिए । 

चिमखोला, दग्नाम, कुइनेमङ्गलेका बासिन्दाले कोदो, मकै, आलु ल्याएर मौवाफाँटबाट सुन्तला साटेर लैजान्थे । आलु र सुन्तलाको वस्तु विनिमय गर्ने चलन थियो । मौवाफाँटका क्षेत्री, बाहुन, ठकुरी र चिमखोला, दग्नामका मगर, कुइनेङ्गलेका छन्त्याल जातिबिच मितेरी साइनो लगाउने चलन पनि थियो । 

केही वर्षयता घरायसी उपभोगका लागि लगाएको सुन्तलाको बोटमा पनि फल लाग्न छाडेको मौवाफाँटका बासिन्दा हरि सुवेदीले बताए । तापक्रम वृद्धिको असर र माटोमा अम्लियपना बढेका कारण मौवाफाँटबाट सुन्तला नासिएको उनले बताए । टुनीको रूखहरू फैलिँदा सुन्तला खेतीमा असर परेको पनि उनको अनुभव छ । 

दाना सानो लाग्ने, पात पहेँलो भएर झर्ने, हाँगा सुक्नेजस्ता समस्या देखिएको सुवेदीले बताए। रघुगङ्गा गाउँपालिकाको केन्द्र रहेको मौवाफाँट समुद्री सतहदेखि एक हजार दुई सयदेखि एक हजार चार सय मिटरको उचाइमा छ । मौवाफाँट त्यसभन्दा माथिल्लो क्षेत्रमा पर्ने फूलबारी, दुलेपानी र बुक्लमा सुन्तलाखेती राम्रो हुन थालेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?