तनहुँ जलविद्युत् आयोजनाले माछा संरक्षण गर्दै

लोकपथ
56
Shares

तनहुँ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडको कार्यालय परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित आयोजनाको कार्यालय तथा आवास परिसरमा मत्स्य ह्याचरी निर्माण गरिएको हो । 

ह्याचरीमा आवश्यक पर्ने पानी आपूर्ति गराएर माछाका नमुना संकलन गरी परीक्षणका रूपमा छाडिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरिसकेको छ । 

‘आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रूपमा यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछाको जीवन जोखिममा पर्ने देखिएको छ । यसको क्षतिपूर्ति स्वरूप मादी नदीतर्फको प्राकृतिक बहावमा माछा संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो, ‘भण्डारीले भने। उनका अनुसार सेती र मादी नदीको सङ्गमस्थलबाट मादीको माथिल्लो तटीय क्षेत्रमा योजना कार्यान्वयनको पहल थालिएको हो ।

योजना कार्यान्वयनका लागि मादी नदीको तटसँग जोडिएका तनहुँको व्यास तथा लमजुङको मध्यनेपाल नगरपालिकाका प्रमुख, कास्कीको मादी तथा रुपा गाउँपालिकाका अध्यक्ष, तनहुँ हाइड्रोपावर लिमिटेड र बोटे समाजको प्रतिनिधि रहने गरी माछा संरक्षण समन्वय समिति गठन भइसकेको छ ।

मादी नदीमा माछा संरक्षण गर्ने विषयमा स्थानीय पालिकाहरूको साझा सरोकार र साझेदारीको विषय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाबमोजिम समिति गठन गरिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए। 

उनले भने, ‘बाँधका कारण यहाँ पाइने रैथाने असला र सहर प्रजातिका माछाको जीवन जोखिमा पर्ने देखिएपछि संरक्षणका लागि सेती र मादी नदीको सङगमस्थलबाट करिब ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको हो ।

उनका अनुसार व्यासका वडा नं ३, ४, ५,६, ७ र १०, मध्य नेपालका वडा नं ४, ५, ६, ७ र ८, रुपाका वडा नं १, ३ र ७ तथा मादी गाउँपालिकाका वडा नं ४, ५, ९, १०, ११ र लाई प्रभावित क्षेत्र मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?