काठमाडौं । काठमाडौंमा आगामी शनिबार ‘इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता’ हुने भएको छ । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजना र राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ संघसँगको सहकार्यमा आगामी शनिबार दोस्रो ज्ञान संस्कार इन्टर स्कुल नेसनल स्केट प्रतियोगिता हुन लागेको हो ।
आज आयोजित पत्रकार सम्मेलनमार्फत ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी प्रधानाध्यापक नीलम बानियाँ बडूले प्रतियोगितामा नेपालभरिका विभिन्न विद्यालयबाट दुई सयभन्दा बढी विद्यार्थीको सहभागिता रहने जानकारी दिइन्। विद्यालयस्तरमा सञ्चालन हुने प्रतियोगिताले विद्यार्थीमा उत्साह जगाउनुका साथै राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सहयोगी हुने उनले विश्वास व्यक्त गरिन् ।
युवामाझ लोकप्रिय बन्दै गरेको नेपाली स्केटिङ खेल आधिकारिक रूपमा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनोस् भन्ने उद्देश्यले विद्यालय स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रअ बडूले उल्लेख गरिन् ।
राष्ट्रिय स्केटिङ तथा स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने स्केटिङ प्रतियोगितामा सहभागी गराइने बताए । प्रतियोगितामा देशभरका धेरैभन्दा धेरै विद्यालयबाट सहभागिता रहोस् भन्ने उद्देश्यले प्रचारप्रसार गरिरहेको उनको भनाइ छ ।
आगामी शनिबार हुने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ उद्घाटन गर्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र तथा द्वितीय र तृतीय हुने खेलाडीलाई प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ । साथै सहभागी सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया