सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत् महसुल समयमा नबुझाउँदा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्न सुरु गरेको छ । गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइन काटिएपछि किसान समस्यामा परेका छन् ।
नगरपालिकाले दुई वर्षअघिदेखि नगरका किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको थियो । तर, लामो समयदेखि पालिकाले महसुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए । उनले भने,‘हामीले अहिले तीनओटा ठुला कृषि मिटरको लाइन काटेका छौँ । नगरको सम्पूर्ण कृषि मिटरको बाँकी बक्यौता करोड भन्दा माथि छ । महसुल उठाउनको लागि लाइन काट्नुको विकल्प हामीसँग छैन ।’
सिँचाइ मिटरको लाइन काटिँदा वडा न. ८ का सयौँ किसान मर्कामा परेका छन् । ‘किसानले लगाएको गहुँमा सिँचाइ गर्नु पर्ने समयमा विद्युत् लाइन काटियो । अहिले सिँचाइ गर्न समस्या भइरहेको छ,‘ स्थानीय किसान योगेश सिंहले भने,‘नगरपालिकाले विद्युत् महसुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो । विनाकारण किसानले दुःख पाइरहेका छन् ।’
उनले यहाँ रहेको सामूहिक कृषि सिँचाइ मिटरको दुई हजार दुई सय महसुल पुगेपछि प्राधिकरणले लाइन काटेको जानकारी दिए। उनले भने,‘पालिकाले जिम्मा नलिएको भए हामी नियमित रूपमा महसुल बुझाउँथ्यौँ । अहिले २२ हजार महशुलमात्र हैन, त्यसमा लाग्ने जरिवाना र पुनः जडान खर्च समेत किसानले बेहोर्नु पर्ने अवस्था आयो ।’ एउटै मोटरले यस क्षेत्रका ५० विगहाभन्दा धेरै जमिन सिँचाइ गर्दै आइरहेका उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया