विभिन्न खेल आयोजनाका लागि चेम्बर अफ कमर्सको  सहकार्य

लोकपथ
49
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विभिन्न खेलकुद र सो सँग सम्बन्धित सामाग्रीको प्रदर्शनी आयोजनाका लागि विभिन्न संस्थासँग सहकार्यको सम्झौता गरेको छ । 

चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिले नेपाल खेलकुद पत्रकार मञ्च, माईस इन्टरनेशनल सर्भिस प्रालि, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रि तथा नेपाल स्पोर्टस् एशोसिएसनसँग सहकार्यका लागि सम्झौता गरेको हो । 

नेपाल स्पोर्टस कन्क्लेभ २०२५, नेपाल दोस्रो स्पोर्टस एण्ड फिटनेस एक्स्पो २०२५ एवं पाँचौं स्पोर्टस च्याम्पियनसिप एण्ड एक्सोका लागि सहकार्यको सम्झौता गरिएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सम्झौतामा नेपाल चेम्बर अफ कमर्सको शिक्षा एवं खेलकुद समितिका सभापति रूपक राजवंशी, नेपाल स्पोर्टस एण्ड फिटनेश इन्ट्रस्ट्रिका अध्यक्ष सुरज डंगोल, यस्तै नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य निरन्जन राजवंशी र माईस इन्टरनेशनलका निर्देशक दीपक थापाले हस्ताक्षर गरेका हुन् । सो हस्ताक्षर कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता थियो । 

चेम्बर अफ कमर्स र खेलकुदका विभिन्न निकायबीच भएको सम्झौताले नेपालमा खेल क्षेत्रको विकास, अवसरहरूको सिर्जना एवं नीतिगत तवरमा सहकार्य हुने विश्वास गरिएको छ । चेम्बरसँग गरिएको सम्झौतापछि सरोकारवाला सबै निकायलाई एकीकृत गरी खेलकुद क्षेत्रको विकास गर्न रणनीतिक साझेदारीमा महत्पूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ । 

दोस्रो नेपाल स्पोर्टस कन्क्लेभमा समूहगत छलफल, कार्यपत्र प्रस्तुति लगायतका कार्यका लागि चेम्बर अफ कमर्सले सहकार्य गर्नेछ । यस्तै दोस्रो नेपाल फिटनेस एक्स्पोमा खेलाडी एवं फिटनेश उद्योगी, नयाँ खोज एवं फिटनेश क्षेत्रको बारेमा वृहत् जानकारी दिने उद्देश्य राखिएको छ ।

यस्तै चेम्बसँगको सहकार्यमा पाँचौं स्पोर्टस् च्याम्पियनसिपको समेत आयोजनाको तयारी भएको छ । चेम्बर अफ कमर्स र विभिन्न खेलकुदका संस्थाबीच आगामी ३ वर्षका लागि सहकार्यको सम्झौता भएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो सहकार्यले नेपालको खेल क्षेत्र र अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?