यौन सम्बन्धको पोल खोलिदिएको भन्दै वृद्धको हत्या, प्रत्यक्ष देखेपछि मृतकले लगाइदिएका थिए चुकुल

लोकपथ
4.7k
Shares

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–५ खुंग निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या विवाहेत्तर सम्बन्धमा रहेका जोडीबाट भएको खुलासा भएको छ । विवाहेत्तर सम्बन्धमा रहेका जोडीको यौन सम्बन्धबारे समाजमा भनिदिएकाले उनीहरूले ती वृद्धको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको हो । 

गत माघ १८ गते बिहान करिब साढे ८ बजे सोही गाउँपालिकाको उपल्लो फुर्सेधारास्थित खुंग–नारिकोट जोड्ने कच्ची सडकको भित्री बाटोमा उपाध्यायको शव फेला परेको थियो । टाउको, अनुहार, नाक, मुखमा समेत गहिरो चोट लागी रगताम्मे भई ढलेको अवस्थामा शव फेला परेको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले गौमुखी गाउँपालिका–५ खालका ५१ वर्षीय लोकबहादुर गिरी र सोही गाउँपालिकाको गोलढुंगाकी ५० वर्षीया जेदुकुमारी न्यौपानेलाई पक्राउ गरेसँगै हत्याको कारणबारे खुलासा भएको हो । पक्राउ परेका दुवै विवाहित हुन् । न्यौपानेकी पति रोजगारीको सिलसिलामा भारतमा छन् । उनीहरूका सन्तानको पनि विवाह भइसकेको छ । गिरीका पनि घरमा पत्नी र छोराछोरी छन् । 

जिल्ला प्रहरी कार्यालय, प्युठानका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक केशव केसीले आफूहरुबीचको अवैध यौन सम्बन्धको पोल समाजको अगाडि खोलिदिएको निहुँमा वृद्धको हत्या गरेको बयान उनीहरूले दिएको बताए । 

पक्राउ परेका गिरी र न्यौपानेबीच अवैध सम्बन्ध रहेको र उक्त विषय उपाध्यायलाई थाहा भएपछि दुवै जनाले योजनाबद्ध रूपमा हत्या गरेको केसीले बताए । 

ती वृद्धले करिब एक वर्षअगाडि न्यौपानेको घरको कोठामा गिरी र न्यौपानेलाई अवैध शारीरिक सम्बन्ध राखेको अवस्थामा फेला पारेका थिए । त्यसपछि उनले उनीहरू सुतेर बसेको कोठाको ढोकाको चुकुल बाहिरबाट लगाइदिएका थिए । त्यसपछि उनीहरूको सम्बन्धबारे गाउँ छिमेकलाई समेत थाहा भएको थियो । आफूहरूको बेइज्जत गरेको भन्दै उपाध्यायलाई कुनै पनि दिन नमारी नछाड्ने भनेर उनीहरूले रिसईबी पालेर बसेको पनि अनुसन्धानबाट खुलेको छ । 

प्रहरी अनुसन्धानका क्रममा हत्या गर्नु अघिल्लो दिन राति ८ बजेतिर न्यौपानेले ती वृद्धलाई फोन गरी उपल्लो फुर्सेधारास्थित खुंग–नारिकोट जोड्ने भित्री कच्ची सडकमा बोलाएको खुलेको छ । उनी आउनेबितिक्कै दुबै जनाले एकाएक ढुंगा र उनीहरूले लिई आएको घरेलु हतियार (भरुवा बन्दुक) को बट समेतको भागले प्रहार गरी वृद्धलाई बीभत्स तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ ।

कल डिटेल रिपोर्ट र घटनामा प्रयोग गरिएको भरुवा बन्दुकको बटको आधारमा अनुसन्धान सफल भएको प्रहरी निरीक्षक केसीले बताए । 

प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक, मोबाइल र सात हजार रुपैयाँ नगद समेत बरामद गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?