काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कार्यकारी निर्देशक नवराज अधिकारीले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनपछि मात्रै ४३ जलविद्युत कम्पनीको आईपीओ निष्कासन अगाडि बढ्ने बताएका छन् ।
महिला आर्थिक पत्रकार संघ (फेजा) ले अर्थतन्त्रको बारेमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक अधिकारीले यस्तो बताएका हुन् । उनले प्रतिनिधि सभा अन्तर्गतका सार्वजनिक लेखा र अर्थसमितिले दिएको निर्देशन कार्यान्वयनको लागि बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधनका लागि समिति गठन गरेको बताए ।
उनले समितिहरूले आईपीओ निष्कासनमा बेथिति भएको भन्दै ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै प्राथमिक शेयर जारी गर्न दिनेगरी कार्य सम्पादन गर्न बोर्डलाई निर्देशन दिएकाले बोर्डले आईपीओबारे कुनै निर्णय लिन नसकेको बताए ।
उनले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीलाई प्राथमिक शेयर जारी गर्न नदिन निर्देशन दिएको तर बोर्डको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा भने त्यस्तो व्यवस्था नभएको बताए ।
उनले समितिको निर्देशन कार्यान्वयनको लागि नियमावली संशोधनको तयारीमा बोर्ड रहेको बताए । उनले बोर्डले नियमावली संशोधन गरेपछि मात्रै ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीको आईपीओ स्वीकृतका लागि काम अघि बढ्ने बताए ।
गत वर्षको पुस १२ गते बसेको लेखा समितिको बैठकले ९० रुपैयाँभन्दा बढी नेटवर्थ भएका कम्पनीलाई मात्रै प्राथमिक शेयर जारी गर्न दिन निर्देशन गरेको थियो । निर्देशनको कारण एक वर्षदेखि नेपाल धितोपत्र बोर्डमा झन्डै ३ दर्जन कम्पनीहरूको आईपीओ प्रक्रिया अड्किएर बसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया