ललितपुर । ललितपुरस्थित ‘छपेली–माझखण्ड केबुलकार’को निर्माण कार्यको शिलान्यास माघ २१ गते हुने भएको छ । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ का सांसद एवम् पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले बटम स्टेसन छपेलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले बताए ।
डेष्टिनेशन माझखण्ड कम्पनीले दक्षिण एशियाकै पहिलो अत्याधुनिक केबुलकार सेवासहतिको पर्यटन प्रवर्धनको काम गर्न लागेको सो कम्पनीले जनाएको छ । यो केबुलकार नेपालकै पहिलो युरो स्ट्याण्डर्ड सर्टिफाइड हुने पनि कम्पनीले जनाएको छ । काठमाडौंबाट हेटौँडा जाने कान्ति लोकपथमा पर्ने छपेलीबाट सुरु हुने केबुलकारमा माझखण्डसम्मको २.८ किमीको यात्रा बिनाटावरको स्टेसन टु स्टेसन हुने पनि कम्पनीका अध्यक्ष सञ्जेलले बताए ।
‘केबुलकारको टप स्टेसन माझखण्ड १ हजार ७ सय ८६ मिटर उचाइमा रहेको छ । जहाँबाट हिमाल, पहाड र तराई मधेसको वीरगंजसम्म दृश्य एकैसाथ अवलोकन गर्न सकिन्छ । माझखण्डभन्दा करिब ५ किमी माथि रमितेबाट सगरमाथाको रेञ्ज, तराई मधेस र काठमाडौं उपत्यकासमेत एकैस्थलबाट लोभलाग्दो दृश्यावलोकन गर्न सकिन्छ । रमिते अति नै दुर्लभ भूस्थल हो,’ सञ्जेलले भने ।
सञ्जेलले भने,‘माझखण्ड केबल कारले नेचर, कल्चर र एडभेन्चरको संयोजनसहित पर्यटक र तीर्थयात्रीहरूका लागि एक अद्वितीय प्याकेज सिर्जना गर्ने छ । चाहे तपाईँ शान्ति, आध्यात्मिकता वा उत्साह खोज्नुहोस्, माझखण्ड तपाईँको उत्तम गन्तव्य बन्छ ।’
महारुद्रेश्वर महादेव, विश्वकै ठुलो थाङ्का ९७०/६० मिटर० प्रदर्शनस्थल तथा बौद्ध गुम्बा र बिहारसहितको धार्मिक धाम पनि रहेको हुँदा पर्यटन प्रवर्धनका लागि यो केबुलकार निर्माण थालिएको कम्पनी सञ्चालक डोलकेशर दहालले बताए ।
उनका अनुसार सुविधा सम्पन्न होटेल, रेस्टुरेन्ट, फनपार्क, जीपलाइनसहितको पर्यटन प्याकेज लिएर डेष्टिनेशन माझखण्ड कम्पनीले काम थालेको हो । जिल्लाका सबै राजनीतिक दल, सांसद्, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासी, सरकारी निकायसहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण डेढ वर्षभित्र काम सक्ने गरी द्रुत गतिमा अघि बढ्ने पनि उनले बताए ।
यो केबुलकार निर्माण भएर सञ्चालनमा आउँदा ललितपुर जिल्लाको मात्र नभई समग्र मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र आर्थिक समृद्धिको कोशेढुङ्गा बन्ने अपेक्षा गरिएको छ । पर्यटन प्रवर्धन, रोजगारसँगै स्वरोजगार सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि छपेली-माझखण्ड केबुलकार उदाहरण बन्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया