अस्ट्रेलियामा व्यापार सहजिकरणका लागि चेम्बरद्वारा प्रतिनिधि चयन

लोकपथ
21
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अस्ट्रेलियामा व्यापार सहजिकरणका लागि प्रतिनिधि चयन गरेको छ । चेम्बर अफ कमर्स सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सील सदस्य एवं व्यवसायी संजिव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्ताक्षर गरेका हुन्  । अस्ट्रेलियामा आयोजित विशेष कार्यक्रममा सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र सहित आगामी कार्यकालका लागि बधाई दिए ।

नेपाल र अस्ट्रेलियाबीच व्यापार प्रवर्द्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शर्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रूपमा चयन गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अस्ट्रेलिया नेपालीहरूको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्त्व राख्ने भएकाले व्यापार सहजीकरणको लागि प्रतिनिधि चयन गरिएको सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले बताए ।

उनले भने,‘नेपालबाट अस्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ, चालु आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ, घरेलु तथा हस्तकलाका सामाग्री, कार्पेट, पास्ता लगायतका सामाग्री निर्यातका लागि अस्ट्रेलिया राम्रो बजार छ, ।’ यस्तै अस्ट्रेलियामा रहेका गैर आवासीय नेपालीहरूलाई स्वदेशमा लगानी भित्र्याउन पनि सल्लाहकार परिषद्का अध्यक्ष श्रेष्ठले आग्रह गरे ।

चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए । नेपालमा व्यापार सहजीकरण मार्फत निर्यात प्रवर्द्धन गर्न आफले पहल गर्ने शर्माले बताए ।  नेपाल चेम्बर अफ कमर्सले विभिन्न मुलुकमा व्यापार सहजीकरण, एवं निर्यात प्रवर्द्धनका लागि प्रतिनिधि चयन गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?