काठमाडौं । रुसले युक्रेनी राजधानी किएभ नजिकै ड्रोन आक्रमण गर्दा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको छ ।
युक्रेनले १२ वटा रुसी क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको बदलामा रुसले युक्रेन नजिकै ड्रोन आक्रमण गरेको हो । युक्रेनी आक्रमणका कारण एक विशाल रुसी कारखानामा सेवा अवरुद्ध भएको थियो ।
मस्कोले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेयता राजधानीमा हरेक दिन ड्रोन वा क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ ।
रुसी आक्रमणका कारण क्षतिग्रस्त भएको आवासीय भवनबाट कालो धुवाँ निस्केको र उद्धारकर्मीहरूले मृतकको शव बाहिर निकालेको घटनास्थलबाट प्राप्त तस्बिरमा देखिएको छ ।
युक्रेनी आपतकालिन सेवाले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किएभ क्षेत्रमा शत्रुको आक्रमणमा परी तीन जनाको मृत्यु भएको छ ।’ उक्त क्षेत्रका प्रमुखले एक निजी घरमा आक्रमण भएको बताए । ड्रोनका टुक्राहरू १० तले आवासीय भवनमा पनि ठोक्किएको बताइएको छ ।
युक्रेनी वायु सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले किएभ र पश्चिमी एल्भिभसहित सात क्षेत्रमा २५ वटा रुसी आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया