काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबारको जग्गाका विषयमा प्रतिक्रिया दिएका छन् ।
आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सरकारले चाहेमा उक्त जग्गा फिर्ता ल्याउन सकिने बताए ।
बैठकमा केही सांसदहरुले प्रचण्ड निकटका मान्छेहरु समेत त्यसमा जोडिएको भन्दै प्रश्न उठाएका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले ललिता निवास लगायत सरकारी जग्गा व्यक्तिको नामबाट सरकारकै नाममा ल्याउन सफल भएको भन्दै राज्यले चाहेमा जग्गा फिर्ता ल्याउन सकिने बताए ।
‘यो शेरा दरबारको विषय सुनेपछि झापाको कार्यक्रममा मैले दोषीलाई कारबाही गरियोस्, सरकारलाई म सहयोग गर्न तयार छु भनेर भनेको थिएँ । मलाई धेरै भन्नु छैन । जसरी ललिता निवासको कयौँ रोपनी जग्गा फिर्ता ल्याउन सकियो । यसरी नै जग्गा फिर्ता ल्याउन सके म सरकारलाई धन्यवाद भन्नेछु,’ प्रचण्डले भने ।
त्यस्तै उनले माओवादी निकटका मान्छेहरु त्यसमा जोडिएको बाहिरिएको भन्दै त्यसमा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन आग्रह गरे । त्यस्तै यसअघि प्रधानमन्त्रीका रुपमा आफू रहँदा कुनै काण्डमा मुछिएको भएमा आफू समेत त्यसमा छानबिनको दायरामा आउन तयार रहेको बताएको समितिलाई स्मरण समेत गराए ।
‘मैले आफ्नै पार्टीका नेताहरू दोषी देखिन्छन् भने छानबिनको दायरामा आउनुपर्छ । राज्य र सरकारको जमिन कुनै व्यक्तिले गैरकानुनी रूपले व्यक्तिको नाममा गर्छ भने जो कोही होस्, कानुनको दायरामा ल्याउनुपर्छ भनेर भनेको थिएँ,’ प्रचण्डले भने, ‘मलाई लाग्छ यदि छानबिन गर्दै जाँदा प्रचण्डलाई पनि छानबिनको दायरामा ल्याउनुपर्छ भनेर बोल्ने पहिलो प्रधानमन्त्री म नै थिएँ ।’
त्यस्तै बैठकमा फरक प्रशंगमा बोल्दै प्रचण्डले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत रूपमा निष्कर्षमा पुर्याउन पहल गरेकोमा समितिलाई धन्यवाद समेत व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया