काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा अब उमेर हद लागु हुने भएको छ ।
उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर भएको मतदानमा उमेर हद नलगाउने भन्दा लगाउने पक्षमा २१ मत बढी आएसँगै यो विषय अब कार्यान्वयनमा जाने भएको छ ।
२ हजार ३९८ मतदातामध्ये खसेको करिब १ हजार ७८९ मतमा १ हजार ७७९ मत सदर भएको थियो । ३२ वर्षे उमेर हद लगाउने पक्षमा ९०० र नलगाउने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।
गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उमेर हदको विषयकै कारण नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । त्यसबेला राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय चर्काेरुपमा उठेको थियो । विवादकै बीच मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिएको थियो. । तर पनि विवाद नसुल्झिएपछि ३२ वर्षे उमेर हद लगाउने कि खुल्ला प्रतिस्पर्धाको आधारमा नेतृत्व चुन्ने भनेर शनिबार निर्वाचन गरिएको थियो ।
समस्या सुल्झिएसँगै अखिल क्रान्तिकारीको पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि यही माघ १२ गते दोस्रो चरणको निर्वाचन हुनेछ । यसअघि पुस १७ गते नेतृत्व चयनका लागि निर्वाचन निर्धारण गरिएको थियोे । निर्वाचन कार्यतालिका अनुसार माघ ५ गते केन्द्रीय पदाधिकारी र सदस्यका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । भौगोलिक र गैरभौगोलिक गरी ९ प्रदेशस्तरमा मतदान हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया