स्वास्थ्य परीक्षणमा देखिएको सिण्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग

लोकपथ
84
Shares

काठमाडौं । वैदेशिक रोजगारमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने मेडिकल व्यवसायीहरुको छाता संगठन नेपाल मेडिकल व्यवसायी संघ (नेमो) ले सिण्डिकेट तोड्न माग गरेको छ ।

संघले बिहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा पत्रकार सम्मेलन गर्दै केही सीमित व्यक्तिहरुले मात्रै राज्यका विभिन्न निकायहरुलाई प्रभावमा पारेको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव कृष्णप्रसाद बजगाईँले आफूहरुले आगामी दिनमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण प्रणालीमा सिन्डिकेट अन्त्यको अभियान चलाउने बताए । श्रमिकहरुको स्वास्थ्य परीक्षणमा गुणस्तरीयता, स्वास्थ्य परीक्षणलाई सर्वसुलभ, सहज र सबैको पहुँचमा पुर्याउने राज्य गम्भीर बन्नुपर्ने बेला आएको बताए ।

हाल वैदेशिक रोजगारमा जाने श्रमिकहरुको मेडिकल व्यवसायीहरुको स्वास्थ्य परीक्षणका लागि सरकारबाट २१२ स्वास्थ्य संस्थाले इजाजत प्राप्त गरेका छन् । तर सबै स्वास्थ्य संस्थालाई राज्यले समान व्यवहार गर्नुपर्नेमा देशैपिच्छे सिन्डिकेट खडा गरेर मलेसियाका लागि विभिन्न ३६ र गाम्काका लागि १९ वटा स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गरिएको आरोप महासचिव बजगाईँले लगाए ।

केही दिन अघि मलेसिया सरकारले उक्त सिन्डिकेट खारेज गरेको विज्ञप्ति जारी गरिसकेको तर सरकारले भने सीमित व्यक्तिहरुको प्रभावमा परेर त्यसलाई लुकाएको आरोप संघको रहेको छ ।

‘…अहिले मलेसिया सरकारले नै सिण्डिकेट खारेज गरेको सूचना सम्प्रेषण गरिसकेको अवस्था छ । तर हाम्रो देशमा यो वा त्यो बहानामा मलेसियाबाट प्राप्त सूचनालाई गोप्य राखी आम जनमानसमा भ्रम सिर्जना गरिरहेका छन् । केही गरेजस्तो गरेर केही निकाल्न सकिन्छ कि भन्ने ध्याउन्नमा सम्बन्धित निकायहरु, उच्च पदस्थ व्यक्तिहरु तथा वैदेशिक हस्तक्षेपकारी यो षडयन्त्रमा छन् कि भन्ने शंका उब्जनी भएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै मलेसियाबाट आएको सूचना समेत जारी गर्न उनीहरुको माग रहेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षणका लागि विभिन्न स्वास्थ्य संस्थालाई इजाजत दिइएपनि सरकारले कोरिया, इजरायल लगायतका देशहरुमा विभिन्न अस्पतालबाट समेत स्वास्थ्य परीक्षण गराइरहेको संघको आरोप रहेको छ ।

पत्रकार सम्मेलनमा मेडिकल व्यवसायी संघका अध्यक्ष तारानाथ अर्यालले बोल्दै आफूहरुले गुणस्तरीय स्वास्थ्य सेवा दिँदा पनि विभिन्न बिचौलियाको प्रभावमा परेर राज्यले विभेद गरिरहेको गुनासो गरे । विभिन्न स्वास्थ्य संस्थाबाट मेडिकल गरेर विदेश गएका नेपाली श्रमिकहरु फर्किदा आफूहरुले त्यसको जिम्मेवारी लिने गरी काम गरिरहेको समेत जानकारी गराए ।

त्यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले स्वास्थ्य परीक्षणको लागि भइरहेको सिण्डिकेट अन्त्यका लागि तत्काल सूचना जारी गर्ने प्रतिबद्धता व्यक्त गरेको महासचिव बजगाईँले जानकारी गराए । साथै मन्त्री भण्डारीले एकीकृत रुपमा स्वास्थ्य सेवा प्रणाली विकास गर्न आफू प्रतिबद्ध भएको बताएको उनको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?