ओली र दाहालको तामझाम, देउवाको फिक्का

काठमाडौं, १७ कात्तिक- मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार मुलुकभर उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ। जुलुस, नाराबाजी र बाजागाजासहित उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । दोस्रो चरणमा प्रमुख दलका प्रमुख नेता उम्मेदवार बनेका छन् । बिहीबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । वाम गठबन्धनका नेताले सामूहिक रूपमा जुलुस प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गरेका थिए । ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १ सय २८ र प्रदेशसभाका २ सय ५६ स्थानका लागि उम्मेदवारी दर्ता भएको हो , अन्नपूर्ण पोस्टमा खबर छ उच्च हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा पहिलो चरणका लागि मनोनयन दर्ता भइसकेको छ । पहिलो चरणको निर्वाचन मंसिर १० गते हुँदै छ । संविधानसभाबाट संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड र गठबन्धनका कारण थोरै मात्र दलले प्रतिनिधिसभामा प्रवेश पाउने आकलन गरिएको छ । साना दल पनि ठूला दलका गठबन्धनमा मिसिएर चुनावमा सहभागी भएका छन् एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनका नेता-कार्यकर्ताको संयुक्त जुलुस र तामझामसाथ उम्मेदवारी दर्ता गराए । ओली झापा-५ र दाहाल चितवन-३ बाट उम्मेदवार बनेका छन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसमार्फत गृहजिल्ला डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका थिए । देउवाले कांग्रेसका स्थानीय नेता गणेशदत्त पन्तलाई वारेसनामा दिएका थिए । सरकारी काम र पार्टीको बैठकका कारण देउवा उम्मेदवारी दर्ताका लागि गृहजिल्ला जान नसकेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?