साञ्जेन जलविद्युत् आयोजनाले थाल्यो व्यावसायिक उत्पादन

लोकपथ
77
Shares

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत्ले सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर सोमबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाले गत मंसिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । आयोजनाका सब इन्जिनियर रविन कोइरालाले रसुवाको आमाछोदिङ्मो -५ मा निर्माण भई सञ्चालनमा आएको साञ्जेन जलविद्युत् सोमबार साँझबाट राष्ट्रिय प्रणालीमा जोडिएको बताए ।

‘क्यास्केड मोडल’मा निर्माण गरिएका अर्ध जलाशय प्रकृतिको दुई आयोजनामध्ये साञ्जेन (माथिल्लो) जलविद्युत् आयोजना २०८० भदौ मसान्तमा सम्पन्न गरी असोज २१ गतेदेखि राष्ट्रिय प्रणालीमा जोडिएको थियो । यो आयोजनाले कूल ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारिक रूपमा बिजुली प्रवाह गरिरहेको थियो । सो आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैँले आठ किलोमिटर ११ केभी डबल सर्किट प्रसारण लाइन तथा १३२.११ केभी सब स्टेसन निर्माण गरेको थियो ।

चिलिमे त्रिशूली ६६ केभी प्रसारण लाइनमार्फत क्षमताको सीमितताका कारण करिब ८.५ विद्युत् वैकल्पिक रूपमा बिक्री गर्दै आएको थियो । साञ्जेन तथा साञ्जेन (माथिल्लो) दुवै आयोजना २०७२ सालको भूकम्प, कोभिड–१९, नाकाबन्दी, राष्ट्रिय प्रसारण लाइन उपलब्ध नहुनुलगायत कारणले निर्धारित समयमा सम्पन्न हुन नसकेको आयोजना कार्यालयले जनाएको छ ।

हालै चिलिमे९ त्रिशूली २२० केभी प्रसारण लाइन सम्पन्न हुने बित्तिकै ती आयोजनाबाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको कम्पनीले जनाएको छ ।

नेपालमा निर्माणाधीन अर्ध जलाशययुक्त आयोजनामध्ये नमुना आयोजनाका रूपमा साञ्जेन रहेको कम्पनीले जनाएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाको बाँध स्थलमा करिब ४४ हजार घन मिटर क्षमताको पानी जम्मा गरी राष्ट्रिय विद्युत् प्रणालीलाई ७० मिनेट सहज गर्न सकिने ‘पिकिङ पोखरी’ निर्माण गरिएको छ ।

उक्त पोखरीको पानी सञ्चय गरी साँझको समयमा थप बिजुली उत्पादन गरी राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान गर्न सकिने आयोजनाका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहले जानकारी दिए । उक्त पिकिङ पोखरीका कारण आयोजना मर्मत सम्भार गर्न र ‘इमर्जेन्सी ब्रेक डाउन’मा समेत पावर हाउस सञ्चालन गर्न सकिन्छ ।

नेपालमा भएका क्यासकेड आयोजनामध्ये विशेष प्रविधि जडान गरी साञ्जेन माथिल्लो आयोजना मर्मत सम्भार गर्दा पनि तल्लो आयोजना निरन्तर विद्युत् उत्पादन गर्न सकिने नेपालकै पहिलो आयोजना हो । 

नेपालमा नमुना प्रविधिका रूपमा पहिलो पटक जडान गरिएको उक्त प्रविधि आगामी दिनमा अन्य क्यास्केड आयोजनाले जडान गरी क्यासकेडको तल्लो आयोजना माथिल्लो आयोजनामा रहने निर्भरता कम गर्न सकिन्छ ।

हाल नेपालमा विकास गरिएका क्यास्केड आयोजनामध्ये यो नमुना आयोजना रहेकाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, हाइड्रोलोजी, दिगो विकासलगायत विषयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक अध्ययन अनुसन्धानका लागि समेत उपयोग गर्न सकिने आयोजनाले जनाएको छ ।

निर्माणाधीन ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादनसँगै बिजुली बढी माग हुने सुख्खा मौसमका महिनामा प्रणालीको असन्तुलन केही हदसम्म समाधान हुने विश्वास कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?