काठमाडौं । नेपाल चेम्बर अफ कमर्स एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी बीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने बारे सम्झौता भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज आयोजित कार्यक्रममा चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गरेका हुन् ।
निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, विपद् व्यवस्थापन एवं युएनडीपीले तय गरेका विकास लक्ष्यलाई पुरा गर्न सहकार्य गर्ने गरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको छ । जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलका साथै जोखिम न्यूनीकरण गर्नेबारे समेत प्रतिबद्धता जनाइएको छ ।
उक्त सहमति तत्कालै कार्यान्वयनमा आउने पनि चेम्बरले जनाएको छ । राष्ट्रसंघीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्व तयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्त्वपूर्ण भएको चेम्बर अध्यक्ष अग्रवालले बताए ।
युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरू पुरा गर्न चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र प्राकृतिक विपद्बाट बच्नका लागि चेम्बरसँग गरिएको सहकार्य अति नै महत्त्वपूर्ण भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया