काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरूकताका काम गर्नुपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले सांसदहरू निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको बताए । उनले सांसहरु संसदप्रति उत्तरदायी नभएको टीकाटिप्पणीहरू भइरहेको उल्लेख गर्दै संसद र समितिहरूलाई प्रभावकारी बनाउन सबै संसदहरुले भूमिका खेल्न जरुरी रहेको बताए ।
उनले संघीयता कार्यान्वयनको सवालमा प्रश्नहरू उठिरहेको उल्लेख गर्दै संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण गर्न निरन्तर छलफल गरिरहेको बताए । उनले विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक छिटो ल्याउन आफूले निरन्तर निर्देशन दिइरहेको बताए । उनले संसदीय समितिहरूमा धेरै विधेयक नभए पनि संसदहरुको ध्यान नपुग्दा कानुन निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ छ ।
उनले संसदीय पत्रकारिताले संसदमा भएका समस्याहरू र त्यसको महत्त्व उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आए पनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा गर्न नहुने क्रियाकलापहरू बढ्दै गएको बताए । सञ्चार क्षेत्रले समाचार सम्प्रेषणका क्रममा सही सूचनालाई सही ढंगले संप्रेषण गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले संसदीय गतिविधि, संसदका समस्याहरूलाई पत्रकारिता क्षेत्रबाट उजागर भएपछि मात्र सच्याउन सकिने भएकाले संसद सेवालाई प्रभावकारी बनाउन संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया