काठमाडौं । सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भए पनि कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा कर्णाली याक्सले प्रस्तुत गरेको १०२ रनको झिनो लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
प्लेअफ समीकरणअनुसार सुदूरपश्चिमले १३ ओभरभित्र जित निकाल्दा काठमाडौं गुर्खाजले प्लेअफमा स्थान बनाउने थियो । तर, सुदूरपश्चिमले १६औँ ओभरमा मात्र जित निकाल्दा नेट रनरेटमा कर्णालीले काठमाडौंलाई पछि पार्यो । कर्णालीले सात खेलबाट आठ अंक जोडेको छ । समान अंक भए पनि काठमाडौं नेट रनरेटका आधारमा पाँचौँ स्थानमा छ । यता, कर्णालीविरुद्ध सहज जित निकालेसँगै सुदूरपश्चिमले भने लिग चरणमा शीर्ष स्थान हासिल गरेको छ । सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको छ ।
प्ले अफ चरणमा पुग्ने चारवटै टोलीको टुंगो लागिसकेको छ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्ले अफ चरणमा यसअघि नै पुगिसकेका छन् । सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमा छ ।
यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि ओमानी खेलाडी जिसन मकसुदले बनाएको ३० रन नै सबैभन्दा बढी रन हुन पुग्यो ।
बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वासिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए । कर्णालीले इनिङ भरी नै एउटा पनि छक्का प्रहार गर्न सकेन । बलिङमा सुदूरपश्चिमका लागि हर्मित सिंहले ३ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट, स्कट कुगेलेइनले २ विकेट लिए । सेफ अली जेबले पनि एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया