पुस १ गते : लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै 

लोकपथ
70
Shares
दाँया वीपी, बाँया महेन्द्र

काठमाडौं । १ पुस : प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । 

विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेको थियो । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका तत्कालीन प्रधानमन्त्री वीपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरी जलमा बन्दी बनाइएको थियो । 

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी वीपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर वीपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए ।

पुस १ गतेको घटनापछि वीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०६१ भदौ २४ गते बन्दी गृहलाई वीपी सङ्ग्रहालयका रूपमा घोषणा गरी सञ्चालनमा ल्याइएको छ । 

आजको दिन तरुण दललगायतले प्रजातन्त्रमाथि प्रहार भएको दिनका रूपमा कालो दिवसका रूपमा मनाउँदै आएका छन् । यसै अवसरमा आज नेपाली कांग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी कालो दिवस मनाउन लागेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?