गत असोजको बाढीले तनहुँमा एक करोड बढीको बालीमा नष्ट

लोकपथ
35
Shares

तनहुँ ।  गत असोजको बाढीबाट  तनहुँमा  एक करोडभन्दा बढीको बाली नष्ट  भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा एक करोड आठ लाख आठ हजार तीन सय ७० बराबरको क्षति भएको हो । 

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आँबुखैरेनी गाउँपालिकामा सबैभन्दा धेरै क्षति भएको छ । छपन्न रोपनीमा लगाइएको हिउँदे मकै, धान, कोदो तथा दलहन  र सागसब्जीमा ५० प्रतिशत क्षति हुँदा ८६ लाख ७० हजार पाँच सय ७० बराबरको नोक्सान भएको छ ।

त्यसैगरी बन्दीपुरमा साढे पाँच रोपनी धानबालीमा बाढी र पहिराले शतप्रतिश क्षति हुँदा १५ लाख ९१ हजार आठ सय र एक रोपनीमा लगाइएको कोदो पहिराले ५० प्रतिशत क्षति हुँदा ६० हजार नोक्सान भएको छ । देवघाट गाउँपालिकामा पाँच रोपनीमा धानबाली बाढीले शतप्रतिशत क्षति हुँदा दुई लाख ४० हजारको नोक्सान भएको छ ।

देवघाट गाउँपालिकाको वडा नं २, ३ र ५ मा करिब एक रोपनी क्षेत्रफलमा लगाइएको मकै, बोडी, मास, कोदो, काउली बाढीका कारण ९० प्रतिशत क्षति हुँदा ५० हजार र पहिराका कारण एक रोपनीमा लगाइएको बोडीको बीउ शतप्रतिशत क्षति हुँदा एक लाखबराबरको नोक्सान भएको छ ।

प्राकृतिक विपद्बाट खेतबारीमा भएको क्षतिको विवरण संकलन गरी कृषि विकास निर्देशानालयलाई जानकारी गराएको केन्द्रले जनाएको छ ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?