काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० दिनभित्रै निर्माण व्यवसायीहरूले बाँकी भुक्तानी पाउने दाबी गरेका छन् । १७ औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिबार काठमाडौंमा प्रभातफेरी कार्यक्रममा सहभागी हुँदै मन्त्री दाहालले सो घोषणा गरेका हुन् ।
उनले निर्माण क्षेत्र बिना विकास निर्माणका कामहरू अघि बढ्न नसक्ने उल्लेख गर्दै निर्माण व्यवसायीहरुको भुक्तानी प्रक्रिया अघि बढाउनका लागि आफूले शुक्रबार नै हस्ताक्षर गरिसकेको बताए । उनले असोजको बाढी पहिरोले निर्माण सामग्री उत्पादन र आयातमा समस्या भइरहेकोप्रति सरकार गम्भीर रहेको उनको भनाइ छ । निर्माण व्यवसायीहरूका समस्या छिटै समाधान गर्ने प्रतिबद्धता जनाए । उनले समयमै राज्यले निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा अहिलेको समस्या आएको जिकिर गरे ।
मन्त्री दाहालले आगामी बजेट बनाउनु पूर्व नै पूर्वतयारीका साथ योजनाहरू बनाएर काम अघि बढाउने बताए । खरिद नियमावली १३औँ संशोधनमा भएका कमजोरीलाई पनि मिलाएर लैजाने बताए । खरिद ऐनले धेरै समस्यामा पारेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया