चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फकिँदै

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । उनी चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  त्यसतर्फ प्रस्थान गरेका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं फकिने कार्यक्रम छ ।

बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारी पत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसै गरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौंको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको  प्रमाणपत्र आदानप्रदान भएको छ। यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ ।

यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ । 

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?