मदिरा तस्करी गर्ने गिरोहको गाडीको ठक्करबाट चेकिङमा खटिएका सशस्त्रका सई यादव मारिएको खुलासा

पूर्वपश्चिम राजमार्ग ठप्प

लोकपथ
868
Shares

काठमाडौं । सिराहास्थित नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँचका लागि खटिएका सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवको मृत्यु मदिरा तस्करी गर्ने गिरोहको गाडीको ठक्करबाट भएको खुलेको छ । सई यादवको मृत्युपछि उनका आफन्त र लहानवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर राजमार्ग अवरुद्ध पार्दा अहिले पूर्वपश्चिम राजमार्ग ठप्प बनेको छ ।

आन्दोलनमा उत्रिएकाहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, ठक्कर दिनेलाई अविलम्ब पक्राउ गरी कारबाही हुनुपर्ने, मृतकका आफन्तलाई न्याय तथा क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीमा ड्युटीमा रहेका बेला सई यादवलाई आज बिहान करिब ३ बजे नम्बर नखुलेको स्कार्पियो गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि सो गाडी भारततर्फ भागेको थियो ।

तस्करहरुको गाडी रोक्न खोज्दा उल्टै गाडीले उनलाई ठक्कर दिएर भारततर्फ भागेको बताइएको छ । गाडीको ठक्करबाट सई यादवको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीको भनाइ छ ।

बीओपी बरहरीमा कार्यरत सई यादवसँगै अन्य चार सशस्त्र प्रहरी पनि त्यसबेला ड्युटीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?