रसुवामा आगलागी : तीन घर जलेर नष्ट, २७ लाख बराबरको क्षति 

लोकपथ
147
Shares
फाइल तस्बिर

रसुवा । विद्युत सट भई आगो लाग्दा तीन घर जलेर नष्ट भएको छ । आज  राम्चे गाविस वडा नं ३ तथा हाल कालिका गाउँपालिका वडा नं १ निवासी नेमानुर्पु तामाङ, छिरिङ तेम्बा तामाङ र पासाङनुर्पु तामाङको घर जलेर नष्ट भएको  हो । 

सो आगलागीका कारण घर तथा लत्ता कपडा, भाडाकुँडा, गरगहना नगद समेत जलेर नष्ट हुँदा करिब  २७ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी प्रमुख केशव भटृराईले जानकारी दिए । 

भौगोलिक हिसाबले विकटवस्तीका रूपमा रहेको ग्राङको घुमाउने क्षेत्रमा पासाङ मेन्दो तामाङको घरमा आज बिहान विद्युत सट हुँदा आगलागी भएको ग्राङ प्रहरी चौकीले जनाएको छ । सोही घरबाट  तार तानी विद्युत उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

मौजुदा विद्युत ऐन, नियममा एउटाको घरमा जोडिएको मिटरबाट तार तानी अर्को घरमा बत्ती बाल्न नपाइने कानुनी व्यवस्था भएपनि रसुवाका दुर्गम गाउँवस्तीमा यो नियम पालना भएको देखिँदैन । यसरी गैरकानुनीरुपमा विद्युत बत्ती प्रयोग गर्ने सम्बन्धमा स्थानीय जनतालाई सुसूचित गरी त्यसपछि पनि यस किसिमको अवैधानिक गतिविधिमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने रसुवा जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुन्दर चौलागाईं बताए। 

घरमा विद्युत सट भई लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय बासिन्दा समेतको सहयोगमा दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?