रामराजा बहुमुखी क्याम्पसका प्रमुख कुशवाहा हत्याका प्रमुख अभियुक्त पाँच महिनापछि पक्राउ

लोकपथ
245
Shares

वीरगन्ज । बारास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्तलाई पाँच महिनापछि प्रहरीले पक्राउ गरेको छ । गत जेठ ३२ गते आदर्श कोतवाल नगरपालिका–२ स्थित घरबाट फर्किने क्रममा कुशवाहालाई गोली प्रहार गरी हत्या गरिएको थियो ।

त्यसबेलादेखि फरार रहँदा आएका मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले क्याम्पस प्रमख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त सुरेन्द्रलाई विराटनगरबाट पक्राउ गरिएको बताए ।

विराटनगरमा लुकेर खेतीपाती सुरु गरेको सूचना आएपछि प्रविधिको सहयोगमा पछ्याउँदै जाँदा उनलाई बुधबार पक्राउ गरिएको उनले बताए । गोली प्रहारबाट घाइते भएपछि कुशवाहाले त्यसबखत सर्वसाधारणबाट भिडिओ रेकर्ड गर्न लगाएका थिए । जहाँ उनले भनेका थिए, ‘गाउँकै सुरेन्द्र कुशवाहाले ममाथि गोली प्रहार गरेको छ, व्यक्तिगत रिसइबीका कारण गोली प्रहार गर्‍यो ।’ यही मृत्युकालीन भिडिओलाई आधार मानेर प्रहरीले मुद्दा दर्ता गरी खोजबिन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?