किन आए भारतीय सार्पसुटर नेपालमा ?

काठमाडौं, १६ कात्तिक- राजधानीको कमलादीस्थित हेरिटेज प्लाजाभित्र बुधबार साँझ गोली चलेको छ । कर्पोरेट कार्यालयहरू रहेको सो प्लाजाभित्र गोली चलेको आवाज सुनिएपछि खोजतलास गर्दा अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पन्जाबका जसवीर सिंह र अरविन्द सिंह रहेका छन् काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार, पक्राउ परेलगत्तै गरिएको प्रारम्भिक अनुसन्धानमा उनीहरू सुटर रहेको खुलेको छ । मंगलबार मात्रै भारतीय गाडी लिएर काठमाडौं आएका उनीहरूले बुधबार साँझ हेरिटेज प्लाजास्थित गण्डकी खाजा घरमा खाजा खाएका थिए । सोको बिल २२ सय रुपैयाँ उठेपछि महँगो भएको भन्दै उनीहरूले निहुँ खोजेका थिए । वादविवादकै क्रममा उनीहरूले आफूहरू प्रहरी भएको भन्दै पेस्तोल निकालेर एक राउन्ड फायर गरेका थिए । त्यसपछि उनीहरू भागेका थिए । भाग्दै गर्दा कमलपोखरी र दरबारमार्गबाट खटेको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो सो घटनापछि प्रहरीले हतियार ल्याउनुको प्रयोजन र फायर खोल्नुको कारणबारे अनुसन्धान थालेको छ । महानगरीय आयुक्त कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) जयबहादुर चन्दले पक्राउ परेका दुवै भारतीय नागरिक मंगलबार मात्रै स्थलमार्गबाट भैरहवाको सुनौली नाका हुँदै काठमाडौं आएको बताए प्रहरीले उनीहरूलाई कमलपोखरी वृत्तमा राखेर बयान लिएको थियो । उच्च प्रहरी स्रोतले उनीहरू ठूलै घटना गराउन काठमाडौं छिरेको हुन सक्ने आशंका गरेको छ । उनीहरू पक्राउ परेपछि नेपाल प्रहरीको विशेष ब्युरो (सीआईबी) ले पनि अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीहरू भारतीय सार्पसुटर भएको अनुमान गरेको छ बुधबारको यो घटनासँगै भारतीय सार्पसुटर किन नेपाल आए भन्ने प्रश्न पनि खडा भएको छ । तीन साताअघि काठमाडौंमै भएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि भारतीय सार्पसुटरको प्रयोग भएको आशंका गरिँदै आएको छ । यसले राजधानी काठमाडौंको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा हुन थालेको छ, राजधानी दैनिकमा खबर छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?