ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरूले विपद्को बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् ।
डुवानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरूले यस्तो आग्रह गरेका हुन् ।
ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुगेका अध्यक्ष प्रचण्डलाई पीडितहरूले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् ।
पीडितहरूले अझै उद्धारको काम नसकिएको, धेरै मानिसहरु घरबारविहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन सहज बनाइदिन आग्रह गरे।
पीडितहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीले सक्ने जति पार्टीका नेता कार्यकर्ताबाट र बाँकी सरकारलाई आग्रह गरेर पीडितहरूलाई पुरानै अवस्थामा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले उद्धार र राहतमा ढिलाइ गरेको सही भए पनि अहिले सरकारको विरोध गर्नुभन्दा सबै मिलेर उद्धार, राहत र पुनर्स्थापना गर्नुपर्ने बताए ।
जनजीवन सहज बनाएर सबै पीडितलाई दसैँ मनाउन सक्ने वातावरण बनाउन सरकारले पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले आफूहरू पूर्णरुपमा सहयोग गर्न तयार रहेको बताए । यो संकटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न पनि उनले सबैलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया