काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको प्रतिनिधि विवाद टुंगो लागेको छ ।
सोमबार राति अबेरसम्म लगाएर प्रतिनिधि विवाद टुंगो लगाएसँगै अब उमेर हदका विषयमा प्रतिनिधिहरुले आ–आफ्नो मत जाहेर गर्नेछन् ।
असोज १० गतेबाट सुरु भएको अखिल क्रान्तिकारीको २३औँ सम्मेलनमा उमेर हदको विषयमा विवाद देखिएसँगै नयाँ नेतृत्व चयनमा ढिलाइ भएको हो । उमेर हदको विषयमा सोमबार नै मतदान हुने भनिए पनि एक समूहले उग्रता देखाएपछि रोकिएको थियो ।
संगठनभित्र उमेरहदको विषयमा मिश्रित धारणा रहेको विगठित कार्यसमितिका एक पदाधिकारीले लोकपथलाई जानकारी दिए । ती पदाधिकारीका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै उमेर हदको विषयमा देशभरबाट आएका प्रतिनिधिहरुलाई निर्णायाधिकार दिनुपर्ने निर्देशन भएको छ । सोही अनुसार २८,३० वा ३२ मध्ये कुन लगाउने भन्ने विषयमा मतदान हुनेछ । आजै १२ बजेका लागि कीर्तिपुरस्थित महाधिवेशन हलमा भेला बोलाइएको छ । भेलापछि आवश्यक प्रक्रिया पूरा गरेर उमेर हदमा मतदान हुनेछ ।
‘मध्यान्न १२ बजेका लागि भेला बोलाइएको छ । आजै आवश्यक प्रक्रिया पूरा गरेर मतदान प्रक्रिया हुनेछ । यदी देशभरबाट आएका प्रतिनिधिहरुमध्ये बहुसंख्यक प्रतिनिधिले उमेर हदको विषयमा मत जाहेर गरेमा सोही अनुसार नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ,’ ती पदाधिकारीले भने ।
अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि देशभरबाट २ हजार ३ सय २३ प्रतिनिधि छनोट भएका छन् । आज उमेर हदको विषय टुंगो लागेमा भोलि नयाँ नेतृत्व चयन हुनेछ । यदी उमेर हद लागू भएमा अहिले नेतृत्वका लागि दाबी गर्ने अधिकांश नेताहरु प्रतिष्पर्धाबाटै बाहिरिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया