काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संसदको हिउँदे अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नीतिहरूलाई अन्तिम रूप दिने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३४औँ वार्षिक साधारण सभा उद्घाटन कार्यक्रममा उनले संस्कृति, पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐनहरू सांसदभित्र छलफलमा रहेको भन्दै अधिवेशन अगाडि ती ऐनहरुलाई अन्तिम रूप दिने बताएका हुन् ।
उनले भने, ‘संसदको अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नै हामी नीतिहरूलाई अन्तिम रूप दिने काम सक्नेछौँ । हिउँदे अधिवेशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकतम ऐनहरू र निर्देशिका बनाउने दिशामा अग्रसर छौँ । ऐनहरू समयमै आए भने कानुनी राज्यलाई स्थापित गर्न सक्नेछौँ । अहिले सांसदभित्र मन्त्रालयसँग सम्बन्धित विभिन्न छलफलहरू हुने गरेका छन् । ती छलफल र प्रश्नको जवाफ दिने वचनबद्ध पनि गर्दछु ।’
यसको साथै उनले संस्कृति नीति, पर्यटन नीति र हवाई नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेको भन्दै यसबाट नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउन सकिने बताए ।
उनले भने, ‘संस्कृति नीति, पर्यटन नीति र हवाई नीतिमा सामूहिक परिवर्तन गर्न खोजिरहेका छौँ । नेपाल एयरलाइन्सलाई कसरी सुधार गर्ने र सुरक्षाको हिसाबले नेपालको आकाश सुरक्षित छ भन्ने विश्वास दिलाउनुपर्ने हाम्रो दायित्व छ । नेपाल एयरलाइन्सलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा गम्भीर छौँ । निजी क्षेत्रको भूमिका जति गतिशील हुन्छ, त्यति नै यो मन्त्रालयले टेवा प्राप्त गर्छ ।’
उनले पर्वतारोहण संघको भूमिका नखुम्चाई, थप सिर्जनशिल, गतिशील र पर्वतारोहणमा अझ थप योगदान गर्ने संस्थाका रुपमा विकसित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
यस्तै, अहिले एकले अर्काको खुट्टा तान्ने होइन सहकार्यमा काम गर्ने समय आएको भन्दै कांग्रेस–एमाले एक ठाउँमा आउनुको मूल मर्म पनि यही नै रहेको उनको भनाई छ ।
उनले भने, ‘अहिले एकले अर्काको खुट्टा तान्ने समय होइन, सहकार्यमा काम गर्ने समय हो ।सबै मिलेर पहिला देश बचाउ, त्यसपछि मात्र राजनीति, व्यवसाय सबै बचाउन सकिन्छ । त्यसपछि बल्ल प्रतिस्पर्धा गर्न सक्छौँ । कांग्रेस–एमाले मूल प्रतिस्पर्धी एक ठाउँमा आउनुको मर्म सबै वर्गले बुझेर एकताको बाटोबाट ८४ सम्म नेपाललाई एउटा गति दिने काम गर्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया