रविको दाबी : ‘मैले क्लीन चिट पाइसकेँ, अझै भ्रमको खेती भइरहेको छ’

लोकपथ
154
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलनमा आफूमाथिको आरोप छानबिन समितिको प्रतिवेदनले खारेज गरे पनि भ्रमको खेती भइरहेको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोरखा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसहरूले स्वीकार गर्न नसकेको बताए ।

उनले भने, ‘हिजो भर्खरै संसदीय छानबिन समितिले आफ्नो छानबिन प्रतिवेदन बुझायो । त्यसमा मूल आरोपका बारेमा स्पष्टसँग मेरो संलग्नता नरहेको बतायो । तर, केही मानिसहरू मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए । समितिले यस किसिमको संलग्नतामा रवि लामिछानेको संलग्नता छैन भनेर स्पष्टसँग भनेको छ । तर भ्रमको खेती गर्नेहरुलाई त्यो स्पष्टतासँग सरोकार छैन । सहकारी ठगीमा, सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । पुष्टि हुन सकेन । त्यसपछि गोरखा मिडिया नेटवर्कमा गएको पैसामा जिम्मेवार हुनुपर्छ, कारबाही भोग्नुपर्छ भनिएको छ । यति कुरा स्विकार्न के गाह्रो कुरा भयो । अझ देशलाई भ्रममा पार्ने काम गरिएको छ । हामीलाई केही आपत्ति छैन ।’

कुनै दिन गोलीसँग नडराएर पुर्खाले देश जोगाएको उल्लेख गर्दै लामिछानेले आफूहरू गाली खान नडराउने स्पष्ट पारे । त्यस्तै, सभापति लामिछानेले अरूलाई नंग्याउने निहुँमा आफूहरू नांगो नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरे । ‘मेरो केही चिन्ता छ । म सञ्चारकर्मी साथीहरूलाई यस राष्ट्रिय भेलाबाट अपिल गर्न चाहन्छु । देशको पत्रकारितालाई जोगाउनुस् । मलाई नंग्याउने निहुँमा तपाईँहरू नांगो नहुनुहोस्,’ उनको भनाइ छ ।

सोमबार सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदनमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई), तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक छविलाल जोशी र सदस्य कुमार रम्तेलमाथि कारबाही गर्न सिफारिस गरेको छ । तर लामिछानेसहित रास्वपाका सांसद र नेताहरुले भने सहकारीको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेले ‘क्लीन चिट’ पाइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?