बल्छी ध्रुबे र पुजनको मुख्य भूमिका रहेको ‘राधाकृष्ण’ टेलिशृंखला प्रशारण हुँदै

लोकपथ
1k
Shares

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र पुजन घिमिरेको मुख्य भूमिका रहेको राधाकृष्ण टेलिशृंखला आज (शुक्रबार) साँझ ७ः३० बाट प्रसारणमा आउने भएको छ । बल्छी ध्रबे फिल्मले निर्माण गरेको उक्त टेलिशृंखला आज साँझबाट प्रशारणमा आउन लागेको हो ।

यो टेलिशृंखला १० वर्षे माओवादी द्वन्द्वमा आधारित भएको निर्माण पक्षले जनाएको छ ।

बिहीबार मण्डला थिएटरमा एक भव्य समारोहका बीच टेलिशृंखलाको भाग एक प्रदर्शन समेत गरिएको थियो । उक्त समारोहमा १० वर्षे जनयुद्धका कमाण्डर पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री एवम् नेकपा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई उपस्थित थिए ।

मेरि बास्सै, हल्का रमाइलो, जुठे लगायतका टेलिशृंखलाबाट चर्चा कमाएका मरिचमानले कार्यक्रममा बोल्दै यो फरक विषयवस्तुमा आधारित टेलिशृंखलाले इतिहासलाई उजागर गर्ने प्रयत्न गरेको बताए । ‘हामीले राधाकृष्ण १० वर्षे जनयुद्धमा आधारित भएर बनाएका छौँ,’ उनले भने, ‘यो टेलिशृंखलाले नयाँ पुस्तालाई १० वर्षे जनयुद्धका बारेमा बुझाउने प्रयत्न गर्दछ ।’

कार्यक्रममा बोल्दै उनले अब यो टेलिशृंखला प्रदर्शनमा आइसकेपछि आफूलाई माओवादीतर्फ लागेको आरोप लाग्ने समेत उनले बताए । ‘म कुनै पार्टी तर्फ लागेको होइन अब आजको प्रिमियरमा प्रचण्ड र बाबुराम ज्यू आएको देखेपछि बल्छी ध्रुबे माओवादी भयो भन्ने हल्ला फैलन सक्छ तर त्यस्तो होइन,’ उनले भने, ‘भोलि विपी कोइरालाका बारेमा पनि कुनै सामग्रीहरु बनाउन सक्छौँ ।’

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवम् नेकपा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजमा जहिले पनि ठीक र बेठीकबीचको लडाइँ चलिरहने बताए । त्यसैले १० वर्षे जनयुद्ध पनि त्यसैको प्रतिक भएको उनको भनाइ थियो । पहिलो भाग हेरिसकेपछि प्रतिक्रिया दिँदै भट्टराईले जनयुद्ध किन र के’का लागि भएको थियो भन्ने बारे नयाँ पुस्तालाई अबगत गराउने यो टेलिशृंखलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘सही विषयवस्तु प्रस्तुत हुँदा त्यसले इतिहासलाई सम्मान गर्छ,’ उनले भने, ‘राधाकृष्णले १० वर्षे द्वन्द्वलाई यथार्थपरक ढंगबाट प्रस्तुत गर्न सकोस् शुभकामना १’

यसैगरी, पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध जस्तो संवेदनशील, चुनौतीपूर्ण र जोखिमपुर्ण विषयमा टेलिशृंखला बनेकोमा खुसी व्यक्त गरे । ‘मैले मरिचमान जीसँगको भेटमा धेरै ठूलो कुरामा हात हाल्दै हुनुहुन्छ ख्याल गर्नु होला भनेको थिएँ तर पहिलो भाग हेर्दा नै यसले राम्रो छनक दिइसकेको छ,’ उनले भने, ‘यसलाई कलात्मक र यथार्थपरक बनाउनु होला ।’

यसअघि पनि माओवादी आन्दोलनसम्बन्धि फिल्म, टेलिफिल्म बने तर खासै चर्चामा नआएको बताउँदै उनले भने, ‘ती फिल्म माओवादीले नै बनाए त्यसकारण चर्चामा आएन अब यो टेलिशृंखला कलाकारले बनाएको हुँदा यसले सकारात्मक चर्चा पाउनेमा ढुक्क छु ।’

राधाकृष्ण प्रसारणमा गइसकेपछि विभिन्न दबाब आउन सक्ने बताउँदै प्रचण्डले भने, ‘त्यस्तो दबाब आयो भने हामीलाई सम्झनुहोला हामी तपाईंहरुको अघि उभिएर लड्नेछौँ ।’

प्रिमियर सो कार्यक्रममा थुप्रै कलाकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । राधाकृष्णमा बल्छी, पुजनसँगै उत्तम केसी, विशाल पहरी, रोशनी सापकोटा, सिरु विष्ट, कमलप्रसाद भट्ट, शान्ती श्रेष्ठ, भूमिका गिरी, विश्वदीप घिमिरे, केदार बोहोरालगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?