काठमाडौं । नेपाली राजनीतिमा परिचित नाम हो सुवास नेम्वाङ । २०८० साल भदौ २६ गते अर्थात् एक वर्ष अघि आजै उनको निधन भएको थियो ।
तत्कालीन नेकपा एमालेका उपाध्यक्ष रहेका स्वर्गीय नेम्वाङको पहिलो स्मृती दिवसमा विभिन्न कार्यक्रम गरी सम्झना गरिँदैछ ।
२००९ साल फागुन २८ गते इलाम जिल्लाको सुन्तलाबारीमा जन्मिएका नेम्वाङ नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व सभामुख हुन् ।
२०४८ र २०५२ मा उनले दुई पटक राष्ट्रिय सभाको सदस्यको जिम्मेवारीसमेत सम्हालेका थिए ।
२०५६ बाट निरन्तर निर्वाचित हुँदै आएका नेम्वाङले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष लगायत महत्वपूर्ण जिम्मेवारी पूरा गरेका थिए ।
कानुनमा स्नातक गरेका उनी कानुन व्यवसायीका रूपमा परिचित थिए । लामो समय अध्यापनसमेत गराएका नेम्वाङ नेपाल बार एसोसिएसनको पूर्व महासचिवसमेत हुन् ।
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा मोरङको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापतिमा निर्वाचित भएका थिए ।
राजनीतिमै सक्रिय रहँदा नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादी पार्टीबीच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ आवद्ध भए । २०५४ को छैटौं महाधिवेशनदेखि उनी निरन्तर एमाले केन्द्रीय कमिटीमा छन् ।
२०५६ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेम्वाङ २०७९ साल मंसिर ४ मा सम्पन्न निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।
गत पुष १० मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएका नेम्वाङलाई नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पराजित गरेका थिए ।
उनै नेम्वाङको २०८० साल भदौ २६ गते बिहान साढे १ बजे हृदयघातका कारण मृत्यु भएको थियो ।
उनको निधन भएसँगै सो क्षेत्रमा उनका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको थियो भने उनले भारी मतान्तरका साथ निर्वाचित भएका थिए ।
सहमति, सहकार्य र एकता नै राजनीतिको मुल मन्त्र रहेको भन्दै हरेक विषयवस्तुमा सबैलाई मिलाएर लैजान सक्ने नेताका रुपमा अमिट छाप उनले छाडेका छन् । उनी जिवित रहँदासम्म एमालेवृत्तमा मात्र होइन अन्य दलका नेताहरु समेत राजनीतिक जटिलताको समाधानबारे उनैसँग सम्वाद गर्ने गरेका थिए । आज नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनीबिनाको एक वर्ष पार्टीमा खल्लोपना भएको भन्दै स्मरण गरेका छन् । प्रधानमन्त्री ओलीले विभिन्न राजनीतिक मोडमा सुवासलाई सम्झिएको बताएका छन् ।
मृदुभाषी र कुशल नेता मानिने उनको पहिलो स्मृती दिवसमा आज विभिन्न कार्यक्रम गरी सम्झना गरिँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया