नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकमा परिणाममुखी छलफल भयो : गृहमन्त्री लेखक

लोकपथ
336
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारिएको बताएका छन् ।

आइतबार राती आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट गर्दै गृहमन्त्री लेखकले प्रहरी ऐन निर्माणमा परिमाणमुखी छलफल भएको बताएका हुन् ।

गृहमन्त्री लेखकले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई गृह मन्त्रालयमै बोलाएर विधेयकको मस्यौदामाथि छलफल गरेका थिए । आइतबार साँझ नै लेखकले दुबै प्रहरी संगठनको विधेयकका मस्यौदाबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङसमेत गरेका थिए ।

दुवै प्रहरीको कानुनमा संशोधन विधेयकमाथि आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित छलफल भएको थियो ।

बालुवाटारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको नयाँ कानुन निर्माण गर्ने विधेयकमा सकारात्मक र परिणाममूखी छलफल भएको गृहमन्त्री लेखकले बताए ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक राय–परामर्शका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । नेपाल प्रहरीको विधेयक दुई साताअघि नै अर्थ मन्त्रालयमा पठाइएको थियो भने सशस्त्र प्रहरीको विधेयक बुधबार मात्रै अर्थ मन्त्रालयमा पठाइएको हो ।

साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरी सम्बन्धी विधेयकको समस्यौदा टुंग्याउनअघि गृहमन्त्री लेखकले प्रहरीका उच्च अधिकारीको राय लिएका थिए । त्यस्तै मस्यौदा तयार पार्दै गर्दा लेखकले नेपाल प्रहरीका पूर्व प्रमुखहरुको समेत राय–सुझाव लिएका थिए ।

यस्तै सशस्त्र प्रहरीको विधेयकको मस्यौदा टुङ्गो लगाउनुअघि गृहमन्त्री रमेश लेखक आफैँ सशस्त्र प्रहरी मुख्यालय पुगेर उच्च अधिकारीसँग छलफल गरी राय लिएका थिए ।

गृहमन्त्री लेखकले मन्त्री भएको एकसय दिनभित्र प्रहरी ऐनलाई संसद्मा लैजाने लक्ष्य राखेका छन् । केही दिनअघिको पत्रकारसँगको भेटघाटमा गृहमन्त्री लेखकले आफ्नो पहिलो उद्धेश्य नै दुबै प्रहरीको ऐनलाई समयसापेक्ष बनाउनु रहेको बताएका थिए ।

अर्थ मन्त्रालयबाट सहमति आएलगत्तै उक्त विधेयक संसद्मा दर्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?