महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन : मन्त्री साह

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह (सुडी)ले महिला र पुरुषबीच लैगिंक भेदभाव अन्त्य गर्न सरकार लागिपरेको बताएका छन् ।

मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको लैंगिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले सरकार महिला र पुरुषको बिचको खाडल पुर्नेगरी काम गरिरहेको बताए ।

उनले भने, ‘महिला र पुरुषको बिचमा खाडल हुने अवस्था छैन । मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदनहरु गम्भीरतापूर्वक कार्यान्वयनका लागि सरकारको क्षमता अनुसार दातृ निकायहरुसँग समन्वय गरेर हामी आफ्नो समस्याहरुलाई निदान गर्ने र महिलाहरुको अवसरलाई उकासेर पुरुषको बराबरीको अवस्थामा ल्याउने दायित्व हो । आजको एक्काइसौँ शताब्दीको युगमा महिलालाई पछाडि राखेर पुरुष अगाडि जान सक्दैन ।’

लैंगिक समानताको अधिकार कै कारण युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुको प्रगति भएको मन्त्री साहको भनाइ छ ।
नेपालमा पुरुष मात्र काममा जाने र महिलालाई चुलोचौकोमा थुनेर राख्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले जनचेतना फैल्याउँदै यसको अन्त्य गर्नुपर्ने बताए ।

‘युरोप र अमेरिका जस्ता विकसित राष्ट्रहरुमा प्रगति हुनुको मुख्य कारण नै लैंगिक समानताको अधिकार हो । नेपालमा पुरुष मात्र काम गर्ने र महिलालाई खाना बनाउन मात्र राख्ने गरेको पाइन्छ । त्यो अवस्था अब हुँदैन । अब बिस्तारै चेतनाको विकास भइरहेको छ । महिला र परुष मिलेर काम गर्ने हो भने हाम्रो देशबाट पनि छिट्टै गरिबी हट्छ, ’उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?