काठमाडौं । आफूले सम्हाल्दै आएको भौतिक मन्त्रालयबाट हटाइ वन तथा वातावरण मन्त्रालय दिइएकोमा गण्डकीका स्वतन्त्र प्रदेश सांसद दीपक मनाङेले असन्तुष्टि जाहेर गरेका छन् । उनले ‘कुरा नमिले’ सरकारबाट बाहिरिने संकेत गरेका छन् । मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेपछि उनी रुष्ट छन् ।
आज सोमबार मन्त्री बनेकाहरुको शपथ समारोहमा भाग लिन गएपनि उनी वन तथा वातावरण मन्त्रालयको कार्यभार सम्हाल्न गएका छैनन्् । ‘वन मन्त्रालय मैले स्वीकारेको छैन । मुख्यमन्त्रीज्यूसँग कुरा गर्दैछु,’ उनले भने, ‘कुरा नमिले राजीनामा दिन्छु ।’ एमाले केन्द्रीय लेखा आयोग सदस्य पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमाले सोमबारबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेस र एमालेबीच केन्द्रमा नयाँ सत्तासाझेदारी भएको दुई महिनापछि बल्ल एमाले गण्डकी प्रदेश सरकारमा सहभागी भएको हो ।
एमाले चार मन्त्रालयसहित सरकारमा सहभागी भएको हो । गण्डकीमा ७ बाट ९ मन्त्रालय बनाइएको छ । एमालेका तर्फबाट पद्मासहित पर्वतका कृष्ण पाठक, पर्वतकै मित्रलाल बस्याल र कास्कीका प्रकाशबहादुर केसी मन्त्री बनेका छन् । पद्मा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री, केसी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् । अहिले कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया