फेरि एमाले नेता कार्यकर्ता र बालेन आमनेसामने

बालेन भारतीय खुफियासँग मिलेको आरोप

लोकपथ
378
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र एमाले नेता कार्यकर्ताबीच बेलाबेला वाकयुद्ध चलिरहन्छ ।

सडक विभागको विषयदेखि गिरीबन्धु टी–स्टेटको विषयलाई लिएर होस् या अन्य विषयमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बालेन खनिए ।

आइतबार राति मेयर बालेनले बालश्रम शोषण गर्ने एमाले प्रदेश सभा सदस्य रेखा शर्मामाथि कारबाही प्रक्रिया अघि नबढाएको भन्दै सामाजिक सञ्जालमा लेखे । केही समय अघि महानगरको टोलीले एक बालिकालाई ८ वर्षदेखि बालश्रम शोषण गरेको भन्दै उर्मिला चौधरीको उद्धार गरेको थियो ।

अदालतले समेत कारबाही गर्न सुझाएको विषयमा ओलीले आफ्नो पार्टीको नेता भएको कारण बचाउ गरेको भन्दै बालेनले ओलीमाथि नैतिक प्रश्न गरेका छन् ।

उनले प्रदेश सभा सदस्य शर्माको तस्बिर सार्वजनिक गर्दै भने, ‘वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँले विगत ८ वर्ष देखी बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला । कहिले समाउने ?? कि नसमाउने ??,’ बालेनले भनेका थिए ।

यसअघि पनि बालेनले ओलीमाथि खनिएपछि एमालेका नेता कार्यकर्ताहरु उनीमाथि खनिने गरेका थिए । यसैक्रममा एमालेका युवा नेता एवं अनेरास्ववियुका अध्यक्ष समिक बडालले सांग्रिला होटल पछाडी घर भाडामा लिएर भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्न आग्रह गरे ।

‘काठमाडौं महानगरको मेयर बालेनजी साङ्ग्रिला होटेल पछाडी घर भाडा लिएर दैनिक भारतिय खुफिया एजेन्सीसगको निर्देशनमा नेपाली जनताको आखामा छारो हाल्न बन्द गर्नुस्। नेपाली जनताले तपाइको असलियत बुझ्ने दिन धेरै टाढा छैन,’ उनले भनेका छन् ।

त्यस्तै उनले सर्वोच्च अदालतको यसअघिको फैसला हेर्दै फैसलाले कतै पनि सांसद शर्मामाथि कारबाही गर भनेर आदेश नदिएको बताए ।

आज एक भिडियो सामग्री सार्वजनिक गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले २०८१ असार ३० गतेको फैसला अनुसार कारबाही गर्ने आदेश नदिइएको बताए ।

त्यस्तै सर्वोच्च अदालतले त्यस्तो किसिमको आदेश नै नदिएको भन्दै समाजमा अराजकता नफैलाउनका लागि आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?