प्रचण्डको दाबी : ‘दबाबका कारणले मात्रै म नेतृत्वमा बसिरहेका हुँ, नत्र छाडिसक्थेँ’

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरण टिका लगाएर नहुने बताएका छन् ।

आइतबार प्रेस सेन्टर बाँकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टीको नेतृत्व हस्तान्तरण अन्य पार्टीको भन्दा फरक हुने भन्दै सो कुरा बताएका हुन् ।

उनले नेतृत्व निर्माण आन्दोलन, इतिहास र विचारले निर्माण गर्ने भन्दै टिका लगाएर नेतृत्व हस्तान्तरण नहुने दाबी गरे ।

‘नेतृत्व निर्माणको कुरा, नेतृत्व हस्तान्तरणको कुरा, अन्य पार्टीहरुमा भन्दा कम्युनिष्ट पार्टीमा अलि फरक हुन्छ । नेतृत्व भन्ने कुरा आन्दोलनले, इतिहासले, विचारको सहीपनाले, विचार र राजनीतिक संघर्षबाट पार्टी र जनताले बनाउने कुरा हो । हस्तान्तरण गरेर अर्कालाई टिका लगाएर दिएर दिइने कुरा पनि होइन र लिएर लिइने कुरा पनि होइन,’ उनले भने ।

त्यस्तै आफूले लामो समय पार्टीको नेतत्वमा रहेका कारण अब नेतृत्वमा रहीरहन मन नभएको समेत बताए । आफूलाई पार्टीका साथीहरु र जनताको जनभावनाबाट पनि नेतृत्वमा रहिरहनका लागि दबाब परेको भन्दै केही समय नेतृत्वमा रहने बताए ।

‘मलाई त अब अहिले ३५÷३६ वर्षदेखि पार्टी नेतृत्वमा भएकाले अब नेतृत्वमा भइराख्न पर्छ भन्ने त छैन । तर पार्टीको साथीहरु पनि र जनभावना पनि अहिले जस्तो परिस्थिती छ केही समय मैले नै गर्नुपर्छ भन्ने र तपाईंले यताउता गर्न पाउनुहुन्न भन्ने प्रेसर छ मलाई,’ उनले भने ।

त्यस्तै उनले आफू प्रधानमन्त्री बनेका बेला जनतामा जान नसकेको स्वीकार गर्दै अबको समय जनतामा जाने र कुरा सुन्ने बताए ।

केही दिनदेखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको कार्यकर्ता भेलाका लागि प्रचण्ड काठमाडौं बाहिर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?