रास्वपा फर्किने मुकुलको चाहना, दिए पार्टीमा निवेदन (पूर्णपाठ)

लोकपथ
763
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निकालिएका डा. मुकुल ढकालले पार्टीको महामन्त्री र प्रवक्तामा पुनर्बहालीको माग राख्दै पुनरावेदन निवेदन दिएका छन् ।

आफूलाई पार्टीले विधान विपरित कारबाही गरेको भन्दै त्यसलाई बदर गरी पुनः आफ्नो पद बहाली गर्न माग गर्दै पुनरावेदन समितिमा निवेदन दिएका हुन् ।

उनले आफूलाई स्पष्टीकरणको कुनै मौका नै नदिइ कारबाही गरिएको भन्दै त्यसलाई बदर गर्न माग गरेका हुन् ।
पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएपछि उनलाई रास्वपाले साधारण सदस्य रहने तर महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो । गत असार १९ गते पार्टीले ७ दिनका लागि निलम्बन गरे पनि कुनै जानकारी नै नदिइ असार २५ गते पार्टीले तीन पदबाट मुक्त गरेको थियो । त्यसको आधिकारिक जानकारी भने गत साउन १३ गते मात्रै दिइएको उल्लेख गरेका छन् ।

‘नेपालको संविधानको धारा २० को उपधारा (९) ले प्रत्येक व्यक्तिलाई स्वतन्त्र, निष्पक्ष र सक्षम अदालत वा न्यायिक निकायबाट स्वच्छ सुनुवाइको हक हुनेछ भन्ने व्यवस्था गरेको छ भने सुनुवाइको मौकालाई प्राकृतिक न्यायको शिद्धान्त अन्तर्गत सर्वमान्य शिद्धान्त समेतको रुपमा स्वीकार गरिन्छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८ को उपधारा (१) ले राजनीतिक दललाई विधान विपरित काम गर्ने वा दलको आचारसंहिताको पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानको व्यवस्था अनुसार कारबाही गर्न सक्ने अधिकार प्रदान गर्दै उपदफा (२) ले त्यसरी कारबाही गर्दा सफाइ पेस गर्ने मनासिब मौका दिनुपर्ने व्यवस्था गरेको छ । ऐ.ऐन बमोजिम पार्टीले तयार गरेको विधानको धारा ५६ को उपधारा ४ ले समेत सफाईको मौका दिनुपर्ने व्यवस्था गरेको छ । यद्यपि पार्टीको केन्द्रीय समितिबाट मेरो महामन्त्री, प्रवक्ता एवं केन्द्रीय समितिको सदस्य पदबाट पदमुक्त गराउँदा स्पष्टीकरण समेत सोधिएको अवस्था छैन,’ उनले पुनरावेदनमा भनेका छन् ।

त्यस्तै उनले आफूमाथि रास्वपाले पूर्वाग्रह राखेको भन्दै आफूलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यमा पुनर्बहाली गर्न माग गरेका छन् ।

‘…म पुनरावेदक विरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दुषित अभिप्रया एवं उदेश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानून विपरित केन्द्रीय समितिको बैठक बसी म उपर कारबाही गर्दा सफाइ पेश गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराइ मलाई पार्टीको महामन्त्री, प्रवक्ता एवं केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्नेगरी मिति २०८१÷०३÷२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाइ साविक बमोजिम साविककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ,’ उनले भनेका छन् ।

त्यसो त यसअघि नै महामन्त्री, प्रवक्ता र केन्द्रीय समिति सदस्यबाट हटाएको रास्वपाले भदौ ११ गते साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?