काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनबारे चर्चा भइरहेको छ । गत माघमा सम्पन्न कांग्रेसको महासमिति बैठकमा महामन्त्री शर्माले प्रस्तुत गरेको ‘एक्जिट पोलिसी’ ले कांग्रेसमा तरंग उत्पन्न गरेको हो ।
गत साउन २३ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय समितिमा सभापतिसहित पदाधिकारीहरुले धारणा राख्ने क्रम बाहेक सदस्यहरुले धारणा राखिसकेका छन् । तर महामन्त्री शर्माको प्रतिवेदनले भने कांग्रेस बैठक नै केही समय रोकिएको हो ।
महामन्त्री शर्माको प्रतिवेदन अनुसार पार्टीले राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन मन्त्री र सांसद बन्नेहरुको समेत अवधि तोक्नेछ ।
उनको प्रतिवेदन अनुसार राष्ट्रपति एकपटक, प्रधानमन्त्री २ पटक मात्रै बन्न पाउनेछन् । जसको कारण संस्थापन पक्षले त्यसको खुलेर विरोध गरिरहेको छ । वर्तमान सरकारको सहमति अनुसार असार ३० गतेबाट गन्ती सुरु भएको २ वर्षमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । त्यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने र बाँकी रहेको समयसहित चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।
यदी महामन्त्रीको प्रतिवेदन पारित भएमा सभापति देउवालाई नै उक्त विषय भारी पर्ने देखिन्छ । किनकी देउवा यसअघि नै ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । अब उनी छैटौँपटक प्रधानमन्त्री बन्ने दिन कुरेर बसिरहेका छन् । यदी उक्त प्रतिवेदन पारित भएमा आफैँले ताली पिटेर सहमती जनाएको प्रतिवेदनले उनीमाथि नैतिक संकट पर्ने देखिन्छ । जसकारण यसअघि भदौ १२ गतेका लागि बोलाइएको बैठक आजसम्मका लागि स्थगित गरिएको थियो । त्यसबीचमा सभापति देउवा निवास बूढानिलकण्ठमा गरमागरम बहसहरु भए । शनिबार बसेको बैठकले भने आज बस्ने बैठकमा उक्त प्रतिवेदन पारित गर्ने सहमति गरेको हो ।
महामन्त्री शर्माले भने देशको कार्यकारी पदमा केवल पदमा बस्नका लागि बस्ने प्रवृत्तिका कारण नागरिकमा निराशा देखिएको भन्दै राष्ट्रपति एकपटक र प्रधानमन्त्री २ पटक मात्रै बन्न पाउनेगरी पार्टीले प्रस्ताव अघि सारेको बताए । साथै उक्त प्रतिवेदन कांग्रेसबाट पारित भएपछि अन्य दलहरुलाई समेत त्यसले प्रभाव पार्ने उनको धारणा रहेको छ ।
‘देशमा खाली प्रधानमन्त्री उनै उनै उनै भइरहँदा नागरिकलाई के चासो छ भने, ताजा ताजा नेतृत्व चाँही कहिले आउँछ ? भन्ने भइरहेको छ । त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु । कुनै पनि राजनीतिक दलले कसैलाई राष्ट्रपति बनाउँदा २ पटक होइन देशको राष्ट्रपति केवल १ पटक मात्रै बनेर शीतलनिवासबाट शीतल शीतल मुद्रामा बिदा भएर जानुपर्छ भनेर । अनि प्रधानमन्त्री बन्दा उहाँ ४ चोटी बन्नुभयो अरे, उहाँ ५ चोटी बन्नुभयो अरे, उहाँ ६ चोटी बन्नुभयो अरे भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ । त्यो अन्त्य गर्नका लागि प्रधानमन्त्री जतिसुकै लोकप्रीय हुन्, जतिसुकै जनताको रुवाबासी चलोस् तपाईंँ फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिउँन् तर २ पटक प्रधानमन्त्री भएपछि ३ पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनुहुन्न । त्यसैले यो पोलिसी अहिले प्रस्तावित छ, त्यसभित्र कांग्रेसको केन्द्रीय समितिमा अलिअलि समस्या भइरहेको छ, त्यसलाई विवाद भइरहेको छ । त्यसलाई विवाद भन्दा पनि छलफल, साथीहरुको दृष्ट्रिकोण भन्नुहोस्, त्यो सर्वसहमतीमा कांग्रेसको केन्द्रीय कार्यसमितिबाट पास हुन्छ । त्यो दृष्ट्रिकोण पार्टीको अहिले बनेर गयो भने भोलिको लागि त्यसलाई सबै पार्टीलाई प्रभाव पार्छ,’ उनले भने ।
आज दिउँसो २ बजेका लागि कांग्रेस बैठक बोलाइएको छ । उक्त बैठकमा सो प्रतिवेदन पारित गर्ने तयारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया