काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा राम्रो टिम बनेपछि नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
पार्टीको कर्णाली प्रदेशस्तरीय भेलामा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
त्यस्तै पार्टीभित्र नेतृत्व हस्तान्तरणको कुरा उठिरहने भन्दै कुरा उठेपनि अहिले नै नेतृत्व हस्तान्तरण गर्ने कुरा उचित नहुने उनले बताए ।
‘म अब ७० कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनुपर्छ भन्ने छैन, एउटा राम्रो टिम बनेपछि म अर्को भूमिकामा जाने सोचमा छु, ’ उनले भने, ‘नेतृत्वको बारेमा जहिले पनि छलफल भइराख्छ । तर अहिले नै नेतृत्व हस्तान्तरणको कुरा त्यति उपयुक्त छैन ।’
त्यस्तै आफ्नो लागि अध्यक्षको पद त्यति ठुलो नभएको भन्दै विश्व समुदायले आफूलाई परिवर्तनको संवाहकको रुपमा चिनेको दाबी गरे ।
‘अध्यक्ष भन्ने पद मेरालागि त्यति ठूलो छैन । संसारले नै प्रचण्डलाई ठूलो परिवर्तनको संवाहकका रूपमा स्वीकारेको अवस्थामा मलाई अध्यक्ष हुनैपर्छ भन्ने नै छैन,’ प्रचण्डको भनाइ छ ।
त्यस्तै पछिल्लो समय संसद्मा चर्चा भइरहेको माओवादीको सशस्त्र हिंसाको विषयमा समेत प्रतिक्रिया दिए । उनले अहिले माओवादी हिंसा भन्नेहरुले नै कुनै बेला त्यसको प्रशंसा गर्ने गरेको बताए । साथै संविधानमा नै माओवादी जनयुद्ध भनिएकोमा अहिले आएर हिंसाको रुप दिनु उचित नहुने उनले बताए ।
‘संविधानमै सशस्त्र युद्धको कुरा, जनयुद्धको कुरालाई, व्याख्यात्मक टिप्पणीमा ‘माओवादी जनयुद्ध’ भनेरै शब्द प्रयोग गरिएको छ । त्यसमा सबैको सहमति हो,’ उनले भने, ‘एक समय जसले हिंसा भनेर शब्द प्रयोग गर्नुभयो उहाँले त जनयुद्धको प्रशंसा नै गर्नुहुन्थ्यो ।’
त्यस्तै १० वर्षे सशस्त्र द्वन्द्वलाई अपमानित गर्ने कुरा आफूहरुलाई सैह्य नहुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया