काठमाडौं । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद योगेश भट्टराईको अभिव्यक्तिले तनावको स्थिति सिर्जना भएको छ ।
संसद्मा विशेष समय माग गरेर बोलेका सांसद भट्टराईले विवादमा रहेको डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफ्नो धारणा राखेका थिए ।
उनले मंगलबारको प्रतिनिधि सभा बैठकमा विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति खण्डन गर्दै विद्युत प्राधिकरणभित्रको विवाद उनकै पालादेखि भएको भन्दै कटाक्ष गरे ।
त्यस्तै उनले नेपालमा १० वर्ष माओवादीको सशस्त्र हिंसा नभएको भए नेपाल ०६५ सालमा नै लोडसेडिङमुक्त हुने बताए ।
‘यदी यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा यो भन्दा ठुलो क्रान्ति हुन्थ्यो । किनभने माओवादीले कतिवटा ट्रान्समिसन लाइनहरु पड्कायो, कतिवटा शवस्टेसनहरु पड्कायो, विद्युत उत्पादन गर्न खोलामा गएका कति व्यवसायीहरुलाई चन्दा उठाएर भगायो । असुरक्षाको कारणले लगानी भएन । त्यसकारण अध्ययनले यदी माओवादीको १० वर्षको त्यो हिंसा नभएको भए ०७५ सालमा होइन सभामुख महोदय यो देशमा लोडसेडिङमुक्त हुने थियो,’ उनले भने ।
उनको यो अभिव्यक्तिप्रति माओवादी सांसदहरुले विरोध जनाए । माओवादी सांसद माधव सापकोटाले भट्टराईको शब्द अमर्यादित रहेको भन्दै आपत्ति जनाए ।
उनले नियमावलीमा नियमापत्ति हुनेगरी शब्दहरु प्रस्तुत भएको भन्दै नियमापत्ति जनाए ।
उनले नियमापत्तिका लागि माइक मागिरहेका थिए । तर सभामुखले भने आफूमा सो विषय ध्यानाकर्षण भएको बताउँदै बस्न आग्रह गरे । तर माओवादीका अन्य सांसदहरु समेत उभिएर योगेको अभिव्यक्तिमा आपत्ति जनाउँदै होहल्ला गरे । तर सांसद भट्टराईले भने आफूले बोलेको कुरा सही भन्दै त्यसलाई हिंसा बाहेक केही भन्न नसक्ने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया