काठमाडौं । सोमबार काठमाडौंको टुँडिखेलमा गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सांस्कृतिक पर्वमा होहल्ला र उच्छृंखल गतिविधि गरेको भन्दै प्रहरी दुई जनालाई पक्राउ गरिएको विषयले संसद्मा सत्ता र प्रतिपक्षबीच मतभेद देखिएको छ ।
आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै विपक्षी दल रास्वपाका सांसद हरि ढकालले सरकारले आफूविरुद्ध नारा लगाउने युवाहरुको मुख थुन्न खोज्दा त्यसले विग्रहको रुप लिने बताए ।
त्यस्तै उनले युवाहरुले राखेको विरोधका बोलीहरु सरकारले धैर्यतापूर्वक सुन्नुपर्ने बताए । ती पक्राउ परेका युवाहरुलाई तत्काल रिहाइ गर्नुपर्ने माग राख्दै उनले विभिन्न जिल्लामा सामाजिक सञ्जालमा लेखेकै भरमा पक्राउ गर्न थालिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
संसद्लाई सम्बोधन गर्दै उनले भने, ‘विरोधका बोलीहरु त्यो पनि युवाले राखेको, राज्यले धैर्यता राख्नुपर्छ । स्वदेशमा अवसरबाट बञ्चित, रोजगारीबाट बञ्चित बनाइएका ती युवाहरुले सिंहदरबारभित्रका बेमानहरुलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइँदैन । ती युवाहरुको तत्काल रिहाइको म माग गर्न चाहान्छु ।
साथै विभिन्न जिल्लाहरुमा स्याटस लेखेकै भरमा समातिएको समाचार पनि आएको छ । कमिलाको उड्ने बेलामा प्वाँख पलाउँछ । यो कमिलाको उड्ने बेलामा प्वाँख पलाएको जस्तो नहोस् । हामी पनि यस विषयमा संवेदनशील छौँ तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ । म गृहमन्त्रीज्यूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु । यदी गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा विरोध गरेकै आधारमा समाउने हो भने टुँडिखेलमा भएका सबै युवाहरुलाई समाउनुपर्दछ । त्यहाँ सबै ठाउँमा क्यामेराले भेट्या थिएन होला । के गर्नुहुन्छ । तर्सित नबनाउनुस् युवाहरुलाई ।
यता नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गौरा सांस्कृतिक पर्व भएकाले त्यस्तो पर्वमा उच्छृंखल गतिविधि गर्नेहरुको पक्षमा लाग्न नहुने बताए । साथै उच्छृंखल र अराजक गतिविधिलाई प्रोत्साहन गर्ने किसिमका कामहरुमा सांसदहरुले नै उक्साइरहेको भन्दै त्यसमा सचेत रहन आग्रह गरे ।
‘गौरा पर्व विशुद्ध सांस्कृतिक कार्यक्रम हो । संस्कृतिको परिचय पनि हो सुदूरपश्चिमको । र त्यो कार्यक्रममा जुन ढंगको प्रस्तुती भयो, त्यो उच्छृंखल र अराजक नै थियो । त्यो उच्छृंखल र अराजक व्यवहार भनेको चाहे युवा गरुन या प्रौढले गरुवा वा चाहे जुनसुकै लिंग, धर्म वर्ण जसले गरेको भए पनि त्यो उच्छृंखल उच्छृंखल नै हो । र त्यस्ता कुराहरुको विषयलाई लिएर संसद्मा हामीले प्रश्नहरु उठाउन थाल्यौैँ भने हामीले मुलुकलाई र हाम्रो संस्कृतिलाई कतापट्टि लाँदैछौँ भन्ने कुराबारे संसद्को ध्यानाकर्षण गराउन चाँहे,’ उनले भने ।
सोमबार टुँडिखेलमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्नेहरुलाई सरकारले पक्राउ गरेपछि त्यसको विरोध भइरहेको छ । युवाहरुले प्रधानमन्त्री ओली पुगेपछि उनीविरुद्ध नाराबाजी गरेका थिए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसा भड्काउने गतिविधि नगर्न आग्रह गरेका थिए । यता कांग्रेस सभापति शेरबहादुर देउवाले भने ती युवाहरुलाई बदमास भन्दै गाली समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया