गगन–विश्वको प्रतिवेदनले कांग्रेसमा तरंग, १६ गतेसम्मका लागि बैठक सारियो

लोकपथ
259
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सारिएको छ ।

बुधबार (भोलि) दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आगामी भदौ १६ गतेसम्मका लागि स्थगित गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार अर्को बैठक सो दिन दिनको २ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्नेछ ।

बैठकमा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा गगन थापाको प्रतिवेदनबारे धारणा राख्ने क्रम जारी रहेको छ ।

गत फागुनमा सम्पन्न कांग्रेसको महासमिति बैठकले पारित गरेको प्रतिवेदनमा उल्लेख भएका विषयमा संस्थापनको चर्को विरोध भइरहेको छ ।

प्रतिवेदनमा महामन्त्री शर्माले एक्जिट पोलिसीको कुरा उठाएका छन् । जसमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसहित मन्त्री र सांसदको अवधि तोक्ने विषय समावेश रहेको छ । भने अर्का महामन्त्री थापाको प्रतिवेदनमा आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने विषय उल्लेख छ । संस्थापनको चर्को विरोध भएपछि सभापति शेरबहादुर देउवाले दुई महामन्त्रीसहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङसँग छलफल गरेका थिए । देउवा निवास बूढानिलकण्ठमा भएको छलफलमा सहमति नजुटेपछि पुनः भोलि बैठक बस्नेछ ।

गत साउन २३ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा ती प्रतिवेदनमाथि अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम सकिएको छ । साथै सभापतिसहित २ महामन्त्री र उपसभापतिहरुले आ–आफ्नो धारणा राखेपछि आएका सुझावका आधारमा परिमार्जन गरि प्रतिवेदन पारित गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?