प्रचण्डको आरोप : सरकार माफियाहरुको सेवामा अग्रसर छ

लोकपथ
91
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गलत बाटोतिर लागेको आरोप लगाएका छन् ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर प्रचण्डले आफूले सरकार बनेपछि अहिलेसम्म सरकारको कामको गति हेरेको र अब खबरदारी गर्न लागेको बताए ।

त्यस्तै उनले सरकार जनताको समस्या समाधान गर्ने भन्दा पनि स्वार्थ समूह र माफियाहरुको सेवामा अग्रसर भएको आरोप लगाए ।

‘सरकार अहंकारपूर्ण र गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर छ । जनता भन्दा स्वार्थ समूहरुको अझ माफियाहरुको सेवामा अग्रसर छ । त्यसैले अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने भयो,’ उनले भने ।

त्यस्तै वर्तमान सरकारको गठन प्रक्रियामाथि समेत उनले प्रश्न उठाएका छन् ।संविधानको धारा ७६ (२) बमोजिम बनेको आफू नेतृत्वको सरकार ढलेपछि सोही धारा प्रयोग गरेर सरकार गठन गरिएकोप्रति कटाक्ष गरे । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि संविधानको धारा ७३ (२) बाट बनेको सरकार ढलेपछि त्यसको विकल्पमा पुनः सोही धारा प्रयोग गरेर सरकार गठन हुने भनेर दिएको अभिव्यक्ति स्मरण गराए । साथै आफू सरकारबाट हट्दा सो नियम लागू नभएको भन्दै कटाक्ष गरे ।

‘संविधानको धारा अमुक व्यक्तिहरु हेरेर खुल्ने र अमुख व्यक्तिहरु देखेर बन्द हुने हुन्छ ?,’ उनको प्रश्न थियो ।

त्यस्तै आफू नेतृत्वको सरकार गएपछि नक्कली भुटानी शरणार्थी, बाँसबारी जग्गा प्रकरण लगायतका काण्डहरु समेत सरकारले बन्द गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?